काठमाडौं ।
सिन्धुलीको फिक्कल गाउँपालिका–२ स्थित नवलपुरमा पर्ने मध्यपहाडी लोकमार्गबाट सुनकोशी नदीमा खसेको कार अझै भेटिएको छैन। कारमा सवार तीन जना बेपत्ता छन्।
सोमबार मध्यान्ह प्रदेश–३–०१–०२४ च ९५७३ नम्बरको कार सडकबाट करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको थियो। काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बागमती प्रदेश–०८–००१ ख ०१४४ नम्बरको बसले कारलाई ठक्कर दिँदा कार नदीमा खसेको हो।
कार र त्यसमा सवार यात्रुको खोजी भइरहेको सिन्धुलीका प्रहरी प्रमुख (एसपी) रविन्द्र सिंहले बताए।
बेपत्ताहरूको खोजीका लागि डीएसपी विजय श्रेष्ठको नेतृत्वमा टोली परिचालन गरिएको छ। बेपत्ता हुनेमा कार चालक सिन्धुपाल्चोकको जुगल–७ का ३९ वर्षीय दिलबहादुर लामा, सिन्धुलीको गोलञ्जोरका करिब २८ वर्षीय गणेश थापा र सिन्धुलीको तिनपाटन गाउँपालिका–९ का १७ वर्षीय सुजन बलमपाकी मगर रहेका छन्।
यसैबीच, रोकिराखेको अवस्थामा रहेको कारलाई ठक्कर दिने बसका चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको एसपी सिंहले जानकारी दिए।













