चीनमा बाढी र पहिरो : ज्यान गुमाउनेको संख्या २५ पुग्यो

केन्द्रभाग मिडिया

बेइजिङ ।

चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा गएको साता परेको अविरल वर्षापछि आएको आकस्मिक बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् ।

यसअघि जुलाई २६ मा डिङ्सी सहरअन्तर्गत रहेको वेइयुआन काउन्टीमा परेको भीषण वर्षापछि १० जनाको ज्यान गएको जानकारी सार्वजनिक गरिएको थियो । तर पछिल्लो सरकारी विवरणअनुसार मृतकको संख्या बढेर २५ पुगेको हो ।

चीनको राष्ट्रिय विपद् रोकथाम, न्यूनीकरण तथा उद्धार आयोगले गान्सु प्रान्तीय सरकारलाई घटनाको विस्तृत अनुसन्धान र क्षतिको मूल्याङ्कन गर्न निर्देशन दिएको छ । वर्षा अझै जारी रहेकाले विशेषगरी डिङ्सी क्षेत्रमा थप पहिरो जान सक्ने चेतावनी गान्सुका अधिकारीहरूले दिएका छन् ।

यसैबीच, चीनको मौसम विभागले देशका दक्षिणपश्चिमदेखि उत्तरपूर्वसम्मका धेरै क्षेत्रमा भारी वर्षा, तीव्र हावा र मेघगर्जनसहितको आँधी आउने सम्भावना रहेको जनाएको छ । बेइजिङ र भित्री मङ्गोलियामा पनि मौसमसम्बन्धी सतर्कता जारी गरिएको छ ।

सिचुआन प्रान्तमा पनि लगातारको वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार ६४ हजार ६०९ जनालाई सुरक्षित स्थानमा सारिएको छ भने यस वर्षको बाढीको मौसम सुरु भएयता ८ लाख ८१ हजारभन्दा बढी बासिन्दालाई स्थानान्तरण गरिएको छ ।

पश्चिमी प्रशान्त महासागरबाट पूर्वी एसियातर्फ अघि बढिरहेको सुपर टाइफुन डल्फिनले आगामी बुधबारदेखि चीनको दक्षिणपूर्वी तटीय क्षेत्रमा प्रभाव पार्न सक्ने भएकाले मौसम विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । एजेन्सी

  • १७ श्रावण २०८३, आईतवार १७:०२ प्रकाशित