सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवाहरूको संयुक्त अपिल

केन्द्रभाग मिडिया

काठमाडौं ।

तराई मधेशमा धार्मिक हिंसा भड्किएपछि धार्मिक अगुवाहरूले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्। रास्वपा सभापति रवि लामिछानेसँग छलफलपछि उनीहरूले संयुक्त अपिल जारी गरेका हुन्।

अपिलमा विश्व हिन्दु महासङ्घ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्धिकी, विश्व हिन्दु महासङ्घ, नेपालका सचिवालय सदस्य राजुराज फुयाँल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो। यहाँको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान राष्ट्रिय एकता र पहिचानका आधार हुनु कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुन हुँदैन भन्नेमा हामी स्पष्ट छौँ।’

सुनसरी, सिरहा तथा मधेश प्रदेशका अन्य जिल्लामा भएको घटनाको सत्यतथ्य छानबिन गरी कानूनविपरीतका कार्यमा संलग्न जोसुकैलाई कारबाही गर्न, पीडित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिंसात्मक घटना विस्तार गर्ने प्रयास गरिरहेका बेला हामी सम्पूर्ण नागरिकमा संयम रहन, उतेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपिल गर्दछौँ।’

सदीयौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्‍याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन अपिल गरेका छन्। सबै नेपालीलाई शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन तथा कुनै पनि प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न आह्वान गरेका छन्।

  • १५ श्रावण २०८३, शुक्रबार १४:५३ प्रकाशित