पाकिस्तानको ब्रोड पिक आरोेहणको क्रममा हिमपहिरोमा परी निम्स पुर्जासहित १० आरोही सम्पर्कबिहिन, दुई शव भेटियो

खोजी तथा उद्धारका लागि पाकिस्तानी सेनाका दुई हेलिकोप्टर परिचालन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोमा परी नेपालका प्रसिद्ध आरोही निर्मल पुर्जासहित पाँच नेपाली र पाँच विदेशी आरोही सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन आरोहीहरूमध्ये दुई जनाको शव फेला परेको दाबी गरिएको छ। आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सले घटनास्थलमा दुई शव फेला परेको जनाएको हो। यद्यपि शव कसका हुन् भन्ने पहिचान भने अझै हुन बाँकी छ।

यसैबिच, बेपत्ता आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तान सेनाले दुईवटा उद्धार हेलिकोप्टर परिचालन गरेको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार उद्धारकर्मी र विशेष उपकरण बोकेका हेलिकोप्टरहरू उच्च हिमाली क्षेत्रमा जारी खोज तथा उद्धार अभियानमा सहयोग गर्न पठाइएको हो।

नजिकैका के–२ र के–३ हिमालमा रहेका आरोहीहरू पनि ब्रोड पिकमा खोजी अभियानमा सहयोग गर्न अघि बढेका छन्। नेपालका सांसद मिङ्मा ग्याबु शेर्पाका अनुसार उनीहरू आफ्ना क्याम्पबाट तल झरेर खोजीमा सहभागी भइरहेका छन्। इम्याजिन नेपालका आरोहीहरू पनि अभियानमा सहयोग गरिरहेका छन्।

प्रख्यात नेपाली आरोही निर्मल पुर्जाको ट्र्याकिङ उपकरणमा गतिविधि देखिएको रिपोर्ट आए पनि उक्त गतिविधि बिहीबार नै रेकर्ड भएको शेर्पाले बताएका छन्।

अल्पाइन क्लबका अनुसार हिमपहिरोमा परेको आरोहण टोलीमा १० जना थिए। टोलीमा निर्मल पुर्जाको नेतृत्वमा पाँच नेपाली आरोही, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ र एक अन्य विदेशी आरोही छन्। अल्पाइन क्लबका अनुसार सम्पर्कविहीन आरोहण टोलीमा रहेका आरोहीहरूमा नाधिरा अहमद अब्दुल्लाह अल हार्थी (ओमान), सोहेल साखी (पाकिस्तान), वाङ झोङ (चीन), मलोरी गाइस (अमेरिका), निर्मल पुर्जा (नेपाल) पुरबहादुर गुरुङ ‘युकता’ (नेपाल), किली पेम्बा शेर्पा ‘किलु’ (नेपाल), निमा शेर्पा (नेपाल), नवाङ थिन्डु शेर्पा (नेपाल) र ग्यालु शेर्पा (नेपाल) रहेका छन् ।

अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अरशदसहित वरिष्ठ अधिकारीहरूले सरकारी निकाय र सम्बन्धित एजेन्सीसँग समन्वय गरिरहेका छन्। मौसम र परिचालन अवस्था अनुकूल भए उद्धारका थप स्रोत परिचालन गरिने क्लबले जनाएको छ।

  • १५ श्रावण २०८३, शुक्रबार १०:५२ प्रकाशित