काठमाडौं ।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाह मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै देश चलाउन नसक्ने भए जिम्मेवारीबाट पछि हट्न आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले सरकार अहिले बेखबर भएर बस्ने नभई बाहिर निस्किएर सूचना संकलन, जनतासँग संवाद र शान्ति–सुरक्षा कायम गर्न सक्रिय हुनुपर्ने बताए ।
उनले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै देश र जनतालाई ‘टुहुरो’ बनाउने शैली स्वीकार्य नहुने बताए ।
‘यदि प्रधानमन्त्रीले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाए हुन्छ । त्यो पाइन्छ, गर्न सकिन्छ,’ सांसद आरेन राईले भने, ‘रास्वपा आज दुई तिहाइको नजिक छ । २ सय ८२ सांसद हुनुहुन्छ, कोही न कोहीले त देश लिड गरेर जाला ।’
सांसद राईले सरकारलाई जिम्मेवारीबाट नभाग्न चेतावनी दिँदै या त सक्रिय रूपमा काम गर्न, नभए देश चलाउन नसक्ने स्वीकार गरेर मार्ग प्रशस्त गर्न आग्रह गरे ।












