पोखरा ।
वर्षासंगै आएको बाढी र पहिरोले कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ करुवास्थित सुपरसेती जलविद्युत आयोजनाको सुरक्षार्थ निर्माण गरिएको नेपाली सेनाको ब्यारेक बगाएको छ ।
यही ६ र ७ साउनमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण प्रिफ्याब तथा जस्ताले बनेको तीन कोठे ब्यारेक भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको कास्की प्रहरीले जानकारी दिएको हो । प्रहरकीका अनुसारघटनामा कुनै मानवीय वा चौपायामा क्षति नभए पनि ब्यारेकमा बसोबास गर्दै आएका १५ जना नेपाली सेनाका कर्मचारीका लत्ताकपडा तथा व्यक्तिगत बन्दोबस्तीका सामग्री भने पुरिएका छन् ।
घटनाबारे १२ साउनको दिउँसो प्रहरी चौकी सार्दीखोलामा जानकारी प्राप्त भएपछि प्रहरी सहायक हवल्दार टीकाराम गुरुङको कमाण्डमा दुई सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो । टोलीले स्थलगत निरीक्षण गरी क्षतिको विवरण संकलन गरेको हो ।
प्रहरीका अनुसार बाढीले ब्यारेक क्षेत्रमा ठूलो परिमाणमा लेदो र ढुंगा थुपारेको छ, जसका कारण भवन प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ। ब्यारेकमा रहेका सैनिकहरूको दैनिक प्रयोगका सबै सामग्री पुरिएपछि उनीहरूको बसोबाससमेत प्रभावित भएको छ।
घटनापछि प्रहरीले आवश्यक मुचुल्का तयार गरी थप कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ । सुरक्षा निकायका अनुसार समयमै सतर्कता अपनाइएकाले मानवीय क्षति हुनबाट जोगिएको हो ।













