कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ । ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उनको उपचारको क्रममा मंगलबार निधन भएको हो ।

पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले उनको निधन भएको पुष्टि गर्दै भोलि बिहान ८ : ०० बजेदेखि ११ : ०० बजेसम्म पार्थिव शरीर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिए । श्रेष्ठ क्यान्सर पीडित थिए ।श्रेष्ठका ३ छोरा र ६ छोरी छन् ।

श्रेष्ठलाई नेपाली कांग्रेसले वरिष्ठ नेता बनाउने घोषणा गरेको थियो

४४औँ बीपी स्मृति दिवस, ‘जरा अभियान’को समापन तथा नयाँ अभियानको घोषणा कार्यक्रमका अवसरमा राष्ट्रिय सभागृहमा गत साता बिहीबार सभापति गगन थापाले केन्द्रीय समितिबाट अनुमोदन हुने गरी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए ।

सभापति थापाले श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर रहेको उल्लेख गर्दै साउन १२ र १३ गते बस्ने केन्द्रीय समिति बैठकबाट उक्त निर्णय अनुमोदन गरिने बताएका थिए ।

स्याङ्जाबाट पटक–पटक संसदीय निर्वाचन जितेका श्रेष्ठले विगतमा भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री, उद्योग मन्त्री र शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

उनी उपप्रधानमन्त्री पनि बनेका थिए । काङ्ग्रेस संसदीय दलको प्रमुख सचेतक समेत रहिसकेका श्रेष्ठ तत्कालीन नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)का कार्यवाहक सभापतिसमेत बनेका थिए ।

२०१७ सालदेखि, विद्यार्थी अवस्थाबाटै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील श्रेष्ठ २०३६ को जनमतसंग्रह,२०४२ को सत्याग्रह,२०४६ को जनआन्दोलन र २०६२–६३ को दोस्रो जनआन्दोलनका सक्रिय सहभागी थिए ।

  • १२ श्रावण २०८३, मंगलवार १५:३७ प्रकाशित