पोखरा ।
नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण पोखराका अस्पतालमा पनि ओपीडी सेवा बन्द हुदाँ बिरामी मर्कामा परेका छन् ।
नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट भएको घटनाको विरोधमा संघको आह्वानमा देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा स्थगित भएको हो ।
ओपीडी सेवा बन्द गर्दा सर्वसाधारण उपचारबाट बन्चित भएका छन् । स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी टिकट नपाएर अलपत्र परेका छन् ।
अधिकांश अस्पतालका ओपीडी टिकट लिने ठाउँमा सेवा बन्दको सूचना टाँसिएको छ । स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा सेवा बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।
कास्कीमा संचालित सरकारी, सामुदायिक र निजी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन्। ओपीडीसहितका सेवा ठप्प हुँदा अस्पताल पुगेका हजारौँ विरामी मर्कामा परेका छन् ।
नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डा.सुनिल शर्माले नेपाल चिकित्सक संघको केन्द्रीय निर्देशनअनुसार गण्डकी प्रदेशका चिकित्सकहरू आन्दोलनमा सहभागी भएको जानकारी दिए ।
आन्दोलनका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान , गण्डकी मेडिकल कलेज,नेपाल मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल, फिस्टेल अस्पताल, फेवा सिटी अस्पताल, मेट्रोसिटी अस्पताल, पद्मा श्री अस्पताल, सहारा अस्पताल, शिशुवा अस्पताल, पोखरा अस्पताल, पद्म नर्सिङ होम, मातृशिशु मितेरी अस्पताल, मेडी प्लस एण्ड ट्रमा सेन्टर लगायत अधिकांश सरकारी तथा निजी अस्पतालको ओपीडी सेवा पूर्ण रूपमा प्रभावित भएको संघको गण्डकी शाखाले जनाएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहानैदेखि उपचारका लागि अस्पताल पुगेका वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती महिला तथा छिमेकी जिल्लाबाट आएका बिरामीहरू सेवा नपाउँदा निरास हुदै घर फर्केका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन आग्रह गरेको छ ।













