माछापुच्छ्रे गाउँपालिकाको दोस्रो प्राथमिकता सडक अन्तर्गतको पुल निर्माण सुरु

केन्द्रभाग मिडिया

पोखरा ।
माछापुच्छ्रे गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेको दोस्रो प्राथमिकता सडक अन्तर्गतको पुल निर्माणको काम सुरुभएको छ । सार्दीखोला र घाचोक जोड्न सेती नदीमा पुल निर्माणको काम सुरु भएको हो ।

गत २५ साउनमा निर्माणका लागि संझौता भई निर्माण कार्य अगाडि बढाइएको पुलको औपचारिक सिलान्यास भने शनिबार गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर २ मा पर्ने सार्दीखोला र वडा नम्बर ३ मा पर्ने घाचोक जोड्नका लागि सेती नदीमा निर्माण सुरु भएको ‘सार्दीखोला–घाचोक मोटरेबल पुल’ को औपचारिक रुपमा शिलान्यास शनिबार भएको छ ।

पुलको गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । पुल उद्घाटन गर्दै मन्त्री बरालले आफूले जनयुद्ध कालदेखि नै उक्त पुलको आवश्यक्ता महशुस् गरेको स्मरण गरे । उनले अहिले आफू मन्त्री भएको अवसरमा पुल बनाउन पाउँदा हर्षित भएको बताए । ‘पहिलेदेखि नै पहल गरिरहेको थिएँ, तर बल्ल यसले सार्थकता पाएको छ’ उनले भने ।

मन्त्री बरालले संघीयता आएपछि विकासले फड्को मारिरहेको दाबी गरे । बाटो, पुल, सिंचाई, बिजुली, खानेपानीलगायतका विकासका काम टोल टोलमा पुगेका र त्यस मार्फत नागरिकले संघीयताका सुखद् महसुस् गर्नपाएको धारणा राखे । यद्यपी संघीयता विरोधी तत्वसंग भने सबै नागरिक सचेत हुनुपर्ने उनले औल्याएका छन् । संघीयता नचाहने तत्वले संघीयताको विषयमा भ्रम फैलाउन खोजेकाले सचेत बन्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले केन्द्रले आठ वर्ष लगाएर गर्ने काम प्रदेशले दुई वर्षमा गर्ने र प्रदेशले दुई वर्षमा गर्ने काम स्थानीय तहले एक वर्षमै गरेर देखाइदिएको दृष्टान्त पेश गरे । उनले स्थानीय सरकारलाई विश्वास गर्न र अधिकार दिन केन्द्र सरकार र प्रदेश सरकारलाई आग्रह गरे ।

उनले पुल निर्माण हुँदा त्यहाँका स्थानीयले सहज महसुस् गर्ने मात्र नभई बाहिरबाट आउनेले सेल्फि खिच्ने खालको अकर्षक बन्ने समेत दाबी गरे । पुल निर्माण समयमै सक्न आफूहरुले निरन्तर निगरानी गर्ने उनको भनाई थियो ।

उक्त पुल निर्माणको १० प्रतिशत कार्य सम्पन्न भइसकेको निर्माण कम्पनीका प्रमुख निर्मल सिटौलाले जानकारी दिए । गण्डकी प्रदेश सरकारको १० करोड २८ लाखको लागतमा निर्माण गर्न लागिएको पुल निर्माणको जिम्मा हिम्दुङ एण्ड ठोकर÷रामजानकी जेभीले लिएको छ । पुल ७० मिटर लम्बाई र १०.५ मिटर चौंडाईको बन्नेछ ।

स्टिलको आर्क टाइपमा बन्ने पुल २०८० साल साउन २४ गते सम्ममा बनाईसक्नुपर्ने सम्झौतामा उल्लेख रहेको पूर्वाधार विकास कार्यालय कास्कीका कार्यालय प्रमुख महेन्द्र बानियाँले जानकारी दिए ।

सार्दीखोला–घाचोक जोड्न सेतीमा मोटरेबल पुल बनाउनका लागि २०७५ सालको बजेट र रातो किताबमा परेको भएपनि डिजाइन र बजेटका कारण निर्माण हुन सकेको थिएन । जसका कारण पुल करीब ४ वर्षपछि मात्रै निर्माण हुन लागेको हो । ढिलै भएपनि पुल निर्माण शुरु भएपनि स्थानिय हर्षित भएका छन् ।

माछापुचछ्रे गाउँपालिका वडा नम्बर तीनका का वडाध्यक्ष सूर्य लम्सालले मोटरेबल पुल संकटमा परेका परेको महसुस गरिएका बेला पुल निर्माणका लागि काम सुरु भएर शिलान्यास हुँदा स्थानीय जनता हर्षित बनेको बताए ।

माछापुच्छ्रे–२ का वडाध्यक्ष विक्रम गुरुङले लामो पर्खाईपछि बन्न लागेको मोटरेबल पुलले आर्थिक समृद्धिमा सघाउने अपेक्षा व्यक्त गरे । कार्यक्रममा स्थानीय जिल्ला र प्रदेश तहका विभिन्न दल आवद्ध नेता तथा कार्यकर्ताले समेत सम्बोधन गरेका थिए ।

  • २२ माघ २०७८, शनिबार २०:२४ प्रकाशित