सांसद पौडेललाई मेयर आचार्यको आग्रह ‘बसपार्क निर्माणमा अबरोध नगर्नु’

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरका मेयर धनराज आचार्यले संघीय सांसद उत्तम पौडेललाई बसपार्क निर्माण गर्ने र सुकुमबासी समस्याको समाधान गर्ने कार्यमा अबरोध नगर्न आग्रह गरेका छन् । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद उत्तम पौडेलले बसपार्क क्षेत्रका सकुमबासीलाई सोमबार सम्बोधन उनीहरुको साथमा आफू र आफ्नो पार्टी रास्वपा नेतृत्वको सरकार रहेकाले ढुक्क हुन आग्रह गरेका थिए । यसको भोलिपल्ट मंगलबार मेयर आचार्यले पोखरा महानगरले कानुन हातमा नलिएको र कानुन र विधि अनुरुप नै सुकुमबासी समस्या समाधान गरिने अनि बसपार्क निर्माणको कामलाई अगाडि बढाइने प्रष्ट्याएका छन् ।

मेयर आचार्यले आधा शताब्दीदेखि रोकिएको पोखरा बसपार्क निर्माणलाई निष्कर्षमा पुर्‍याउनु पनि महानगरको जिम्मेवारी रहेको भन्दै सुकुमबासी समस्या समाधान र बसपार्क निर्माणमा अबरोध नगर्न सांसद पौडेललाई भनेका छन् । महानगरको उद्देश्य कुनै राजनीतिक दल वा व्यक्तिविशेषलाई लक्षित गर्ने नभई वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या स्थायी रूपमा समाधान गर्नु रहेको स्पष्ट पारेका छन् ।

उनले ‘यदि जथाभावी डोजर चलाउने उद्देश्य भएको भए त्यो धेरैअघि नै चलिसक्थ्यो’ भन्दै यस अभियानमा सके सहयोगगर्न नभए सुकुम्बासी बस्तीमा गएर जनतालाई भ्रमित वा उत्तेजित पार्ने अभिव्यक्ति नदिन आग्रह गरेका छन् ।

उनले मेयर आचार्यले लेखेका छन्, ‘तपाईंका पछिल्ला अभिव्यक्तिहरू केही अतिशयोक्तिपूर्ण र व्यवहारमा कार्यान्वयन गर्न नसकिने प्रकृतिका देखिएका छन्। प्रतिनिधि सभा सदस्यका रूपमा आफ्नो संवैधानिक भूमिका र जिम्मेवारीप्रति पनि उत्तिकै गम्भीर हुनु आवश्यक छ ।

यदि तपाईंले भनेजस्तै घर–घरमा लालपुर्जा वितरण गर्न सम्भव छ भने, कृपया स्पष्ट योजना सार्वजनिक गर्नुहोस्—कति समयमा, कुन कानुनी प्रक्रियाअन्तर्गत र कहाँबाट २० हजारभन्दा बढी परिवारलाई लालपुर्जा वितरण गर्नुहुन्छरु त्यसको व्यवहारिक र कानुनी आधार प्रस्तुत गर्नुहोस् । यदि त्यस्तो सम्भव छैन भने, विधिसम्मत रूपमा अघि बढिरहेको पोखरा बसपार्क निर्माण तथा सुकुम्बासी व्यवस्थापन अभियानमा अवरोध सिर्जना नगर्नुहोस् ।

अथवा, प्रतिनिधि सभा सदस्यका रूपमा तपाईंलाई रहेको अधिकार प्रयोग गर्दै स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरी सुकुम्बासी व्यवस्थापनसम्बन्धी स्थानीय तहको अधिकार र जिम्मेवारी परिवर्तन वा खारेज गर्ने कानुनी प्रक्रिया अघि बढाउनुहोस्। त्यो तपाईंको संवैधानिक अधिकार क्षेत्रभित्रको विषय हो ।
हामी कुनै पनि बहानामा पोखरा बसपार्क निर्माण रोक्ने वा अवरुद्ध गर्ने गतिविधिको पक्षमा छैनौँ, चाहे त्यो जुनसुकै व्यक्ति वा राजनीतिक दलबाट किन नहोस् ।’

  • १२ श्रावण २०८३, मंगलवार १०:५० प्रकाशित