काठमाडौं ।
मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ परेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएसको परीक्षा सञ्चालन भएको ५ मिनेटमै प्रश्नपत्र बाहिरिएको समाचार आएको थियो ।
प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग गएराति नै छलफल गरेका थिए । छलफलमा शिक्षामन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।
त्यसलगत्तै प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सुलभ सर भनिने व्यक्तिसहित दुई जना पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
घटनाका सम्बन्धमा मन्त्री पोखरेलले शनिबार राति मन्त्रालयमै गएर सम्बन्धित अधिकारीसँग छलफल गरेका थिए । उनले प्रहरी उच्च अधिकारीका साथै त्रिविका पदाधिकारीसँग परामर्श गरी छानबिन समिति बनाउने लगायत विषयमा छलफल गरेका थिए ।
पक्राउ गरेका व्यक्तिले सामाजिक सञ्जालमार्फत एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको खुलेको छ ।
८ साउनमा स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको थियो ।
प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डीनको कार्यालयले साइबर ब्युरोलाई पत्राचार गरेको थियो ।परीक्षा नियन्त्रण महाशाखाले आइतबार यही घटनाको छानबिन गर्नका लागि छानबिन समितिसमेत गठन गरेको छ ।












