बुटवल ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिपछि नेपाली कांग्रेसका मन्त्रीहरुले लुम्बिनी सरकारबाट सामूहिक राजीनामा दिने भएका छन् ।
यसअघि नेपाली कांग्रेसको केन्द्रीय समितिले असारको अन्तिममा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको थियो । तर लुम्बिनीमा कांग्रेसबाट मन्त्री भएकाहरुले राजीनामा दिएका थिएनन् । हिजो शनिबार मात्रै एमाले र नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति भएपछि भने एमाले नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई नैतिक दबाब परेको हो ।
लुम्बिनीमा नेकपा एमालेका चेतनारायण आचार्य नेतृत्वमा कांग्रेससहितको सरकार छ । लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन् ।
उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले प्रदेश सरकारको नेतृत्व गरेको दल एमालेले नेकपासँग सत्ता सहकार्यको लिखित सहमति गरेपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने बताए ।













