गण्डकीमा राईड सेयरिङ सेवाका लागि अपेक्षित चासो देखिएन

एउटा कम्पनीले मात्रै लियो अनुमति, बाँकी चार कम्पनीले दर्ता प्रक्रिया अगाडी बढाए

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी सरकारले देशमै पहिलोपटक वैधानिकता दिएको राईड सेयरिङ र सेल्फ ड्राइभ सेवा प्रति सम्बन्धित सेवा दिने कम्पनीहरुले अपेक्षित चासो नराखेको पाइएको छ । सरकारले कम्पनी र सवारी दर्ताका लागि १८ असारमा ३० दिनको म्याद दिएर सूचना निकालेकोमा तोकिएको म्याद सकिन ७ दिन बाँकी रहँदा जम्मा एउटा कम्पनीले पक्रिया पूरा गरेर प्रमाण पत्र लिएको छ । बाँकी चार वटा दर्ता प्रक्रियामा आएका छन् । यातायात व्यवस्था कार्यालय सवारी कास्कीका अनुसार सवारी सेवा नेपालले दर्ता प्रक्रिया पूरा गरेर अनुमती प्राप्त गरेको छ । कार्यालय प्रमुख ढाका प्रसाद शर्माले २० वटा स्कुटरबाट सेवा दिने गरी सवारी सेवा नेपालले दर्ता गराएको जानकारी दिए ।

उनका अनुसार सजिलो नेपाल प्रालि, सवारी सेवा नेपाल, इकोमो नेपाल, जेम्स ग्रीन इलेक्ट्रो मोबिलिटी सर्भिस र मुभ इन नेपाल प्रालिले दर्ताका लागि निवेदन दिएका छन् । यी कम्पनीहरु प्रक्रियामै रहेको शुक्रबार कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले बताए । पञ्जीकरण भएका चार कम्पनीले मापदण्ड अनुसारका डकुमेन्ट ल्याएपछि ईजाजत प्राप्त गर्ने उनको भनाई छ । ‘पञ्जीकरणका लागि निवेदन दिएकाहरुले डकुमेन्ट ल्याउन बाँकी छ । डकुमेन्ट ल्याएर निवेदन दिएपछि उनीहरुले पनि ईजाजत प्राप्त गर्नेछन्’ उभनले भने ।

गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६, राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२ तथा गण्डकी प्रदेश आर्थिक ऐन २०८३ बमोजिम राइड सेयरिङ सेवाको व्यवस्था गरिएको छ । चल्तिमा रहेका पठाओ, ईनड्राइभ, याङ्गोलगायतका अन्तर्राष्ट्रिय कम्पनीहरुले पञ्जीकरण र ईजाजतका लागि अहिलेसम्म निवेदन दिएका छैनन् । उनीहरु भनिएको र दर्ता प्रक्रियामा आउने अपेक्षामा रहेको प्रमुख शर्माले सुनाए । पञ्जीकरण र ईजाजतका लागि निवेदन दिन हामीले उनीहरुलाई भनिसकेका छौं,’ उनले भने, ‘अनौपचारिक छलफल भइरहेको छ तर दर्ताकै लागि भने आइसकेका छैनन् ।’

समय अझै बाँकी रहेको भन्दै कार्यालय प्रमुख शर्माले १५ साउनसम्म दर्तामा नआए दर्ता नभएका राईड सेयरिङ सेवा सञ्चालनमा रोक लगाईने प्रष्ट्याए । उनका अनुसार दर्ता नभएका कम्पनीबाट सञ्चालित सवारीले सेवा दिएको पाइएमा कम्पनीलाई पहिलो पटक एक लाख जरिवाना लगाइनेछ । दोस्रो पटक भेटिएमा त्यसको दोब्बर जरिवाना लाग्नेछ । उनले सेवा दिने सवारी साधनलाई पनि दुई पाङ्ग्रे सवारी साधनको हकमा ५ हजार र चार पाङ्ग्रे सवारीको हकमा १० हजार जरिवाना तोकिएको बताए ।

राईड सेयरिङ नियमावली अनुसार दुई पाङ्ग्रे सवारीका लागि दर्ता गर्न २५ हजार, चार पाङ्ग्रे सवारीका लागि ५० हजार र दुवै प्रकारको सेवा दिने कम्पनी दर्ताका लागि ७० हजार रुपैयाँ शुल्क तोकिएको छ । यसबाहेक दुई पाङ्ग्रे सवारी दर्ता गर्न प्रति सवारी २ हजार ५ सय र चार पाङ्ग्रे सवारीका लागि प्रति सवारी १० हजार शुल्क निर्धारण गरिएको छ ।

तर सार्वजनिक सवारी साधनका रूपमा सञ्चालन भइरहेका सवारीसाधनहरु दर्ताका लागि ५० प्रतिशत छुटमा दर्ता गर्ने व्यवस्था छ । उनीहरु तत्काल राईड सेयरिङ एपमा आबद्ध नभई सञ्चालन भएको खण्डमा पछि कुनै पनि समयमा आबद्ध हुन पाउने व्यवस्था गरिएको छ । एउटा सवारी साधन कुनै एउटा एपमा मात्रै आबद्ध हुन पाउने नियम रहेको छ भने राइड सेयरिङमा आबद्ध राइडरले दैनिक १२ घण्टा मात्रै सेवा दिन पाउनेछ र यसको व्यवस्था एप प्रणालीमै मिलाउन भनिएको छ ।

  • ८ श्रावण २०८३, शुक्रबार २०:४३ प्रकाशित