‘आत्महत्याका समाचारहरू अत्यधिक भावनात्मक, विस्तृत वा नाटकीय ढंगले प्रस्तुत गर्दा त्यसले नक्कल गर्ने जोखिम बढाउन सक्छ। त्यसको सट्टा समाचारसँगै मानसिक स्वास्थ्य सहायता, परामर्श सेवा र आशाको सन्देश जोड्ने अभ्यास आवश्यक छ । आत्महत्यालाई वीरता, बलिदान वा अन्तिम समाधानका रूपमा प्रस्तुत गर्नु घातक हुन सक्छ ।’
– पुष्पराज कोइराला
नेपालमा आत्महत्या अब व्यक्तिगत निर्णय वा मानसिक रोगको विषय मात्र रहेन। यो हाम्रो समाज, राज्य, परिवार र संस्थाहरूको सामूहिक संवेदनशीलताको परीक्षा बनेको छ। पछिल्ला केही वर्षका तथ्याङ्क हेर्दा प्रत्येक दिन औसत १८–२० जना नेपालीले आफ्नो जीवन आफैं समाप्त गरिरहेका छन्। आर्थिक वर्ष २०२४/२५ मा मात्र ६,८६६ जनाले आत्महत्या गरे। यसअघि २०२३/२४ मा ७,२२३, २०२२/२३ मा ६,९९३, २०२१/२२ मा ६,७९२ र २०२०/२१ मा ७,११७ जनाले आत्महत्या गरेका थिए। संख्या केही घटेको देखिए पनि समस्या घटेको होइन; बरु यो नेपाली समाजको गहिरिँदै गएको सामाजिक पीडाको संकेत हो।
यसैबीच, केही दिनको अन्तरालमा भएका आत्मदाहका घटनाले देशलाई झस्काइदिएको छ। काठमाडौंको राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपाली, व्यवसायी अश्विन राउत तथा सर्लाहीका विवेक मण्डलको मृत्यु केवल तीन व्यक्तिको मृत्यु होइन; यी घटनाले राज्य, समाज र नागरिकबीच बढ्दो दूरीको संकेत गरेका छन्। पछिल्लो समय अर्की एक महिलाले पनि काठमाडौंमा आत्मदाहको प्रयास गरेकी घटना सार्वजनिक भएको छ।
समाजशास्त्री एमिल दुर्खाइम (Émile Durkheim) ले एक शताब्दीअघि नै आत्महत्यालाई व्यक्तिगत मनोविज्ञानभन्दा बढी सामाजिक सम्बन्धको परिणाम बताएका थिए। उनका अनुसार समाजसँगको सम्बन्ध कमजोर हुँदा, सामाजिक समर्थन घट्दा वा मानिसले आफूलाई अर्थहीन महसुस गर्दा आत्महत्याको सम्भावना बढ्छ। नेपालका पछिल्ला घटनाहरू दुर्खाइमको यही विश्लेषणसँग अत्यन्त मिल्दोजुल्दो देखिन्छन्।
आज नेपाली समाज तीव्र परिवर्तनको चरणमा छ। संयुक्त परिवार टुक्रिएको छ। गाउँबाट शहर र विदेशतर्फको बसाइँसराइ बढेको छ। रोजगारी अस्थिर छ। प्रतिस्पर्धा तीव्र छ। सामाजिक सञ्जालले सफलताको कृत्रिम मापदण्ड बनाएको छ। अपेक्षा चुलिँदै गएका छन् तर अवसर सीमित छन्। परिणामतः धेरै मानिस बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै एक्लोपन, असफलता र निराशासँग संघर्ष गरिरहेका छन्।
मानवशास्त्रीय दृष्टिले हेर्दा नेपाली समाजमा “सहनु नै सद्गुण” भन्ने संस्कार गहिरो छ। पुरुषलाई रुन नहुने, महिलाले परिवारको इज्जत जोगाउन दुःख लुकाउनुपर्ने, युवाले असफलता स्वीकार गर्न नहुने र वृद्धले बोझ बनेको महसुस गर्न नहुने सांस्कृतिक दबाब अझै बलियो छ। यस्तो अवस्थामा मानसिक पीडा व्यक्त गर्नु कमजोरी ठानिन्छ। मानिसले सहयोग माग्नुभन्दा मौन बस्न रोज्छ।
गणेश नेपालीको घटनाले अर्को गम्भीर प्रश्न उठाएको छ। कुनै पनि सार्वजनिक संस्थामा नागरिक र कर्मचारीबीचको व्यवहार कति मानवीय छ? कुनै प्रशासनिक विवाद वा सामान्य तनावले कसरी चरम रूप लिन सक्छ? सबै आत्मदाहका कारण एउटै हुँदैनन्, तर एउटा साझा पक्ष भने देखिन्छ—मानिसले आफूलाई सुन्ने, बुझ्ने र सम्मान गर्ने प्रणाली भेटेन भने ऊ चरम निराशामा पुग्न सक्छ। यस्ता घटनाको अनुसन्धानले तथ्य स्थापित गर्ला, तर यसले सार्वजनिक सेवामा भावनात्मक बुद्धिमत्ता (Emotional Intelligence) को आवश्यकता पनि उजागर गरेको छ।
हाम्रो प्रशासनिक प्रणाली अझै प्रक्रिया-केन्द्रित छ, व्यक्ति-केन्द्रित कम। सेवा दिन आएका नागरिकलाई कहिलेकाहीँ समस्या होइन, झन्झटका रूपमा हेरिन्छ। कर्मचारीको काम कानुन कार्यान्वयन गर्नु हो, तर कानुन कार्यान्वयन गर्ने शैली पनि मानवीय हुनुपर्छ। सहानुभूति, सम्मान र संवादले धेरै द्वन्द्व सुरुमै रोक्न सक्छ।
अर्कोतर्फ, आत्महत्या केवल गरिबीको समस्या पनि होइन। पछिल्ला घटनाले देखाएका छन्—राइड सेयर चालक, व्यवसायी, किसान, विद्यार्थी, गृहिणी, कर्मचारी—सबै जोखिममा छन्। यसको अर्थ आत्महत्याको जरो आर्थिक, सामाजिक, पारिवारिक, मनोवैज्ञानिक र सांस्कृतिक कारणहरूको जटिल अन्तरसम्बन्धमा रहेको छ।
नेपालमा मानसिक स्वास्थ्य सेवा अझै पनि पर्याप्त पहुँचमा छैन। विशेषज्ञ चिकित्सकको संख्या सीमित छ, सेवा मुख्यतः शहरी क्षेत्रमा केन्द्रित छ र अधिकांश स्थानीय तहमा मनोसामाजिक परामर्श सहज उपलब्ध छैन। अझ ठूलो समस्या भनेको मानसिक स्वास्थ्यलाई लिएर रहेको सामाजिक कलंक हो। धेरै परिवार अन्तिम अवस्थासम्म पनि उपचार खोज्न हिच्किचाउँछन्।
हामीले अर्को एउटा पक्ष पनि बुझ्नुपर्छ। आत्मदाहका घटनाहरू सार्वजनिक स्थानमा हुनु संयोग मात्र होइन। समाजशास्त्रमा यसलाई चरम प्रतीकात्मक विरोध (symbolic protest) को रूपमा पनि व्याख्या गरिन्छ। जब व्यक्तिले आफ्नो आवाज कसैले नसुन्ने अनुभूति गर्छ, उसले आफ्नो पीडालाई सबैले देख्ने गरी प्रस्तुत गर्न खोज्न सक्छ। त्यसैले यस्ता घटनालाई सनसनीको विषय बनाउनेभन्दा त्यसले उठाएका सामाजिक प्रश्नहरूको उत्तर खोज्नु आवश्यक हुन्छ।
मिडियाको पनि ठूलो जिम्मेवारी छ। आत्महत्याका समाचारहरू अत्यधिक भावनात्मक, विस्तृत वा नाटकीय ढंगले प्रस्तुत गर्दा त्यसले नक्कल गर्ने जोखिम बढाउन सक्छ। त्यसको सट्टा समाचारसँगै मानसिक स्वास्थ्य सहायता, परामर्श सेवा र आशाको सन्देश जोड्ने अभ्यास आवश्यक छ। आत्महत्यालाई वीरता, बलिदान वा अन्तिम समाधानका रूपमा प्रस्तुत गर्नु घातक हुन सक्छ।
परिवारको भूमिका झन् महत्त्वपूर्ण छ। धेरैजसो मानिस आत्महत्या गर्नुअघि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा केही संकेत दिन्छन्—अत्यधिक निराशा व्यक्त गर्नु, आफू बेकार भएको भन्नु, सामाजिक सम्बन्धबाट टाढिनु, अचानक व्यवहार परिवर्तन हुनु, आफ्ना सामान बाँड्न थाल्नु वा भविष्यप्रति पूर्ण निराशा देखाउनु। यस्ता संकेतलाई सामान्य ठान्नु हुँदैन। एकपटक मन खोलेर सुन्ने, आलोचना नगर्ने र आवश्यक परे विशेषज्ञकहाँ लैजाने संस्कार विकास गर्नुपर्छ।
विद्यालय र विश्वविद्यालयमा जीवन सीप (Life Skills), भावनात्मक शिक्षा र मानसिक स्वास्थ्य शिक्षा अनिवार्य हुनुपर्छ। विद्यार्थीलाई केवल परीक्षा पास गर्ने होइन, असफलता स्वीकार गर्ने, तनाव व्यवस्थापन गर्ने र सहयोग माग्न सक्ने क्षमता पनि सिकाइनुपर्छ। कार्यस्थलहरूमा कर्मचारी सहायता कार्यक्रम (Employee Assistance Program), गोप्य परामर्श सेवा र मानसिक स्वास्थ्यमैत्री वातावरण निर्माण गर्नुपर्छ।
राज्यले पनि आत्महत्या रोकथामलाई केवल स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मानेर पुग्दैन। शिक्षा, श्रम, गृह, स्थानीय सरकार, सञ्चार क्षेत्र र नागरिक समाज सबैको संयुक्त राष्ट्रिय रणनीति आवश्यक छ। स्थानीय तहमा मनोसामाजिक परामर्श सेवा विस्तार, २४ घण्टा संकट सहायता सेवा, सामुदायिक स्वयंसेवक परिचालन तथा सार्वजनिक सेवामा भावनात्मक बुद्धिमत्ताको तालिम जस्ता कार्यक्रम तत्काल आवश्यक देखिन्छन्।
हामीले अन्ततः एउटा कठोर सत्य स्वीकार्नैपर्छ—आत्महत्या गर्ने अधिकांश मानिस मर्न चाहेका हुँदैनन्; उनीहरू आफूले भोगिरहेको असह्य पीडाबाट मुक्त हुन चाहन्छन्। यदि समयमै कसैले उनीहरूको कुरा सुनेको भए, सम्मानपूर्वक व्यवहार गरेको भए वा सहयोगको हात बढाएको भए, सायद धेरै जीवन बचाउन सकिन्थ्यो।
आत्महत्याको संख्या घट्नु मात्र सफलता होइन; कुनै पनि नागरिकले आफूलाई समाजबाट पूर्णतः एक्लो महसुस नगर्ने वातावरण निर्माण गर्नु नै वास्तविक सफलता हो। गणेश नेपाली, अश्विन राउत, विवेक मण्डल वा अन्य हजारौं नेपालीको मृत्यु केवल तथ्याङ्क होइन; ती हाम्रो सामूहिक असफलताका ऐना हुन्। अब प्रश्न यो होइन कि अर्को आत्महत्या किन भयो। प्रश्न यो हो—अर्को आत्महत्या हुनुअघि हामी समाज, परिवार, संस्था र राज्यका रूपमा कति बदलिन तयार छौँ?
पुष्पराज कोइराला , कन्या क्यामपस पोखरामा मानविकी संकायमा प्रध्यापन गराउछन ।













