पोखरा ।
नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशद्वारा ६४औँ इन्जिनियर्स दिवस–२०८३ को अवसरमा आयोजित ‘रन फर हेल्थ विथ इन्जिनियर्स–२०८३’ अन्तर्गतको ५ किलोमिटर म्याराथन दौड आज पोखरामा भव्य रूपमा सम्पन्न भएको छ।
स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा २०० भन्दा बढी धावकको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा ६६ जना विद्यार्थी र ६६ जना इन्जिनियरले ५ किलोमिटर दौड सफलतापूर्वक पूरा गरेका छन्।
विद्यार्थीतर्फ सफलतापूर्वक दौड पूरा गर्नेमा ६१ जना छात्र र ५ जना छात्रा रहेका छन् भने इन्जिनियरतर्फ ६३ जना पुरुष र ३ जना महिलाले दौड सम्पन्न गरेका छन्। जेष्ठ इन्जिनियरतर्फ ई.आनन्द सापकोटा ले ५ किलोमिटर दौड सफलतापूर्वक पूरा गरेका थिए ।
प्रतियोगितामा इन्जिनियर पुरुषतर्फ ई. साजन श्रेष्ठ प्रथम हुँदै २२ मिनेटमा निर्धारित दूरी पूरा गर्न सफल भए । ई.सन्तोष भण्डारी दोस्रो तथा ई.आकाश थापा २३ मिनेटमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे । इन्जिनियर महिलातर्फ ई. सुदिच्छा राणा प्रथम, ई.टीका चौधरी दोस्रो तथा ई.यमुना केसी तेस्रो हुन सफल भए
विद्यार्थी पुरुषतर्फ प्रीतम पुनले उत्कृष्ट प्रदर्शन गर्दै १७ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरी प्रथम स्थान हासिल गरे। कुशल गुरुङ २१ मिनेट ०५ सेकेन्डका साथ दोस्रो तथा भूपेश चन्द २२ मिनेटमा दौड पूरा गर्दै तेस्रो स्थानमा रहे ।
विद्यार्थी महिलातर्फ एन्जिला गुरुङ प्रथम, सुजाता पौडेल दोस्रो तथा गायत्री पन्त तेस्रो हुन सफल भए ।कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका–६ नेपाली कांग्रेस इकाई सभापति सन्तोष पौडेल रहेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशका सभापति ई.सन्तोष जिसीले गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका सिनियर डिभिजन इन्जिनियर सुरेन्द्र पाण्डे, सिनियर इन्जिनियर सुरेन्द्र पौडेल, नेपाल रेडक्रस सोसाइटी कास्कीका कोषाध्यक्ष कालिदास सापकोटा, नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशका सचिव ई.निरज लामिछाने, सदस्यहरू ई.मनोज गिरी, ई. संजयराज तिम्सिना, ई. सुमन शर्मा तथा सीडेन गण्डकी प्रदेशका सदस्य ई.सन्देश मरासिनी लगायतको उपस्थिति रहेको थियो।
विद्यार्थीतर्फका विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र आजको कार्यक्रममै वितरण गरिएको थियो। इन्जिनियरतर्फका विजेता तथा जेष्ठ इन्जिनियर सम्मानको पुरस्कार भने साउन ९ गते शनिबार भोलि हुने ६४ औँ इन्जिनियर्स दिवसको समापन समारोहमा वितरण गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुनेलाई मेडल, प्रमाणपत्र र नगद ५,०००, द्वितीय हुनेलाई मेडल, प्रमाणपत्र र नगद ३,००० तथा तृतीय हुनेलाई मेडल, प्रमाणपत्र र नगद २,००० प्रदान गरिनेछ।
नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशले ६४औँ इन्जिनियर्स दिवसको समापन समारोह २०८३ साउन ९ गते शनिबार अपराह्न ४:०० बजे, द पावर हाउस रिसोर्ट, बिरौटा–१७, पोखरा मा आयोजना हुने जनाइएको छ ।
कार्यक्रमका संयोजक ई.महेन्द्र पौडेलका अनुसार समापन समारोहमा सहभागी हुन दर्ता शुल्क १,००० निर्धारण गरिएको छ।













