काठमाडौं ।
कृषिप्रधान देश नेपालमा मुख्य खाद्यान्नका रूपमा रहेको धान तथा चामलको परनिर्भरता अझै पनि उच्च रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
भर्खरै सकिएको आर्थिक वर्ष २०८२/८३ मा नेपालले झन्डै ४० अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ ।समग्रमा अघिल्लो आव २०८१/८२ को तुलनामा गत वर्ष धान र चामलको कुल आयात परिमाण र त्यसका लागि बाहिरिने रकममा सामान्य गिरावट आएको देखिए पनि प्रवृत्तिमा भने फरकपन आएको छ ।
तथ्यांकले धान आयात उल्लेख्य घट्दा तयारी चामल आयात भने बढेको देखाएको छ । गत आव २०८२/८३ मा नेपालले कुल ७ लाख ४१ हजार ७ सय ३ टन धानचामल आयात गरेको छ । यसका लागि ३९ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ बाहिरिएको छ ।
अघिल्लो आव २०८१/८२ मा नेपालले कुल ७ लाख ७५ हजार २ सय ६८ टन धानचामल आयात गरेको थियो, जसको कुल आयात मूल्य ४० अर्ब १८ करोड ९७ लाख रुपैयाँ थियो ।
यसरी समग्र तुलना गर्दा अघिल्लो वर्षभन्दा गत वर्ष धानचामल आयात परिमाण करिब ३३ हजार ५ सय ६५ टन घटेको छ भने रकमका आधारमा पनि करिब २९ करोड ३९ लाखले कमी आएको छ ।
धानचामल आयातलाई छुट्टाछुट्टै विश्लेषण गर्दा गत वर्ष नेपालले धान ९बिउ र अन्य कच्चा धान० आयात घटाएको छ । आव २०८२/८३ मा कुल ४ लाख ७७ हजार ९ सय ९ टन धान आयात भएको छ, जसको आयात मूल्य १९ अर्ब १४ करोड ५९ लाख रुपैयाँ छ ।












