पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको अपरेशन ३६५ अन्तर्गत प्रहरीले १८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
साउन ६ गते राति पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा चेकजाँचको क्रममा स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने १८ वटा मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले लेकसाईड, ड्यामसाईड, बिरौटा, छोरेपाटन एरियाबाट ११ वटा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बागलुङ बसपार्क, हरिचोक एरियाबाट ७ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।
अपरेशन ३६५ अन्तर्गत हालसम्म ७४० वटा सवारी साधन र ३६ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरीले जानकारी दिएको छ ।












