बागमती सरकारबाट राजीनामा दिने एमाले मन्त्रीहरुको तयारी

केन्द्रभाग मिडिया

मकवानपुर ।

बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले मङ्गलबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने तयारी गरेका छन्। एमालेले केन्द्रको निर्देशन अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ समक्ष राजीनामा बुझाउने तयारी गरेका हुन् ।

सोमबार ९हिजो० काठमाडौँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको थियो । तर आज केन्द्रको निर्देशन बमोजिम नै राजीनामा दिन लागिएको स्वास्थ्य मन्त्री किरण थापा मगरले बताए ।

उनका अनुसार आजै एमालेका ६ जना मन्त्रीहरूले मुख्यमन्त्री बानियाँलाई राजीनामा बुझाउनेछन् । साथै, प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइने उनले बताए ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार एमालेका मन्त्रीहरूले आज नै राजीनामा गर्ने तयारी भएको छ । सोही अनुसार मुख्यमन्त्री बानियाँसँग समन्वय भएको उनले बताए ।

प्रदेश सुशासन केन्द्र जावलाखेलमा भेटेर राजीनामा बुझाउने गरी समन्वय भएको उनले बताए । पार्टी केन्द्रको निर्देशन अनुसार नै मन्त्रीहरूले राजीनामा गरेर सरकारबाट अलग हुने तयारी भएको उनले बताए ।

बागमती प्रदेशमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमालेका ६ जना मन्त्री सहभागी छन् ।

  • ५ श्रावण २०८३, मंगलवार १६:५७ प्रकाशित