प्रदेश सभा प्रतिपक्षविहीन हुनुहुदैंन : कांग्रेस सभापति थापा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रदेशहरूमा सरकार फेर्ने प्रयास तीव्र भइरहेका बेलामा नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सभा प्रतिपक्षविहीन हुन नहुने बताएका छन् । मुख्य ३ दल कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी मिलेर प्रदेश सरकार बनाउन नहुने पार्टीको स्पष्ट अडान रहेको उनको भनाइ छ ।

गत आइतबार ललितपुरमा सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा सभापति थापाले मुख्य ३ दल मिलेर सरकार बनाउँदा प्रदेश सभा प्रतिपक्षविहीन हुने र त्यो जनताको म्यान्डेटविपरीत हुने बताए ।

प्रदेशसभा प्रतिपक्षीविहीन हुने प्रस्ताव कांग्रेसले ठाडै अस्वीकार गर्ने सभापति थापाको भनाइ थियो । संसद् प्रतिपक्षीविहीन हुँदा लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर बनाउने थापाको तर्क छ ।

कांग्रेसले यस विषयमा आधिकारिक निर्णय त गरेको छैन, तर सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले यस्तै अभिव्यक्ति सार्वजनिक रूपमा दिएका छन् ।

  • ५ श्रावण २०८३, मंगलवार १६:१९ प्रकाशित