पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी चार्टर विमान अवतरण

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी चार्टर विमान अवतरण गरेको छ । बैंकक र ढाका हुँदै अमेरिकी दर्ताको हल्का चार्टर विमान मंगलबार पोखरा विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ ।

विमान बुधबार पाकिस्तानको लाहोरका लागि उड्ने तालिका रहेको जनाइएको छ । विमान स्थलको अनुसार विमानमा चालक दलका सदस्यबाहेक अन्य यात्रु छैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार अमेरिकी दर्ता नम्बर एन–५५५–भीजी भएको सिरस एसआर–२२ विमान बैंककबाट ढाका हुँदै पोखरा आएको हो । चालक दलका सदस्य आज राति पोखरामै बस्ने र भोलि लाहोर प्रस्थान गर्ने उनले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सीएएएन–एफपी ६६३/२०२६ नम्बरबाट उक्त उडानका लागि अनुमति दिएको छ । अनुमति पत्रमा यो उडान चार्टर उडान भएको उल्लेख छ ।

विमान ओएसी एभिएसन प्रालिमार्फत सञ्चालन गरिएको हो । उडानको नेतृत्व क्याप्टेन याङ कुआङ यिङ ले गरिरहेका छन् ।

यद्यपि, यो विमान किन पोखरा आएको हो, यहाँ किन एक रात बस्दैछ र त्यसपछि लाहोर किन जाने भएको हो भन्नेबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।

  • ५ श्रावण २०८३, मंगलवार १५:१७ प्रकाशित