काठमाडौं ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार हेरफेरका सवालमा कांग्रेसको बटम लाइन प्रतिपक्ष विहीन नभएको प्रस्ट्याएका छन् ।
‘प्रदेश सरकार बन्दै र हेरफेर हुँदैगर्दा हामी प्रतिपक्षी विहीन परिकल्पना नगरी टुङ्गोमा पुग्न चाहन्छौ’, उपसभापति शर्माले भने, ‘त्यसका लागि आवश्यक परे कांग्रेस प्रतिपक्षमा बस्न पनि तयार हुन्छ तर नागरिकको मनोविज्ञान विपरीत सबै दल सरकारमा बस्नुपर्छ भन्दैन ।’
उनले यसबारे संवादबाट हल गर्ने प्रयास भइरहेको पनि बताए । ‘कांग्रेसमात्र नभएर सबै दलको सहअस्तित्वबाट हल गर्ने गरेर प्रदेश सरकारबारे टुङ्गोमा पुग्छौ’, शर्माको भनाइ छ ।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति शर्माले संविधानको मूल मर्म पनि प्रदेशमा प्रतिपक्ष विहीनको कल्पना नभएको बताएका हुन् ।
‘प्रदेश सरकारमा रहेका दलहरूबिचमा केही समस्या देखिएको छ’, उपसभापति शर्माले भने– ‘यो विषयमा सार्वजनिक रूपमा धेरै टिप्पणी गरिराख्नु भन्दा आन्तरिक रूपमा संवादहरू भइरहेका छन् ।’
उनले प्रदेश सरकार हेरफेरका सवालमा कांग्रेसको बटमलाइन प्रस्ट रहेको बताए । ‘हाम्रो बटमलाइन– कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन हुनुहुँदैन भन्ने नै हो’, उपसभापति शर्माले भने– ‘त्यसैले वर्तमान संविधान निर्माण गर्दै गर्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले अहिले संविधान संशोधनको संवाद र छलफल समेत चलिरहेका बेला संविधानको मूल मर्मलाई भ्वालेट गर्न मिल्दैन ।’













