हेटौँडा ।
बागमती सरकारबाट नेकपा एमाले तत्काल राजीनामा नदिने निष्कर्षमा पुगेको छ । काठमाडौँको कोटेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले बागमती सरकारबाट अलग हुने विषयमा पार्टीको स्पष्ट निर्देशन कुर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा सहभागी बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलले पार्टीको माथिल्लो तहबाट स्पष्ट निर्देशन नआएसम्म आफूहरूले सरकार नछाड्ने बताए । हालैका राजनीतिक घटनाक्रम र मन्त्रीहरूको राजीनामाबारे बाहिर आएका चर्चा हल्ला मात्र भएकाले पार्टीको निर्देशन कुर्ने उनको भनाइ छ ।
मन्त्री पौडेलका अनुसार बागमती सरकारका बारेमा वर्तमान गठबन्धनमा नै रहेर अघि बढ्ने एमालेको निष्कर्ष रहेको छ । एमालेका मन्त्रीहरूले अहिले नै राजीनामा दिने कुनै तयारी नरहेको उनको भनाइ छ । मन्त्री पौडेलले संसदीय दल र पार्टी केन्द्रको आधिकारिक निर्णय नै मुख्य हुने बताए ।
वर्तमान सत्ता गठबन्धनको बारे अहिले नै निष्कर्षमा पुग्न नसकिने उनले बताए । उनका अनुसार, हाल नेपाली कांग्रेससँगको गठबन्धन कायमै छ र नयाँ ढङ्गले अगाडि बढ्ने विषयमा माथिल्लो तहमा छलफल भइरहेको भए पनि ठोस निर्णय भएको छैन ।
पछिल्लो समय मन्त्रालयहरूको जिम्मेवारी र बिना विभागीय मन्त्रीहरूका विषयमा भइरहेको आलोचनाका सम्बन्धमा पनि माथिल्लो तहमा छलफल भइरहेको र यसको टुङ्गो एक–दुई दिनभित्रै लाग्ने उनले बताए ।
मन्त्री पौडेलले पार्टीको निर्देशनको प्रतीक्षामा रहेको र निर्देशन आए लगत्तै आवश्यक कदम चालिने उनले बताए । तत्कालका लागि सरकारका काम कारबाहीमा नै केन्द्रित रहने उनको भनाइ छ ।













