मकवानपुरमा बाढीले बगाएका स्कुटर चालक मृत भेटिए

केन्द्रभाग मिडिया

हेटौँडा ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत अवस्थामा भेटिएका छन् । बाढीले बगाएको स्कुटर भेटिएको एक दिनपछि चालकको शव घटनास्थलबाट करिब २०० मिटर तल खोलाको बगरमा पुरिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले खोजीका क्रममा खोलामा करिब एक मिटर गहिराइमा बालुवाले पुरिएको अवस्थामा स्कुटर चालक सर्लाही निवासी महेशकुमार कार्कीको शव फेला पारेको हो ।

प्रहरीका अनुसार बाढीले चालकलाई स्कुटरसहित बगाएपछि उनी खोलाको बहावसँगै तल पुगेका थिए । खोजीका क्रममा शव बालुवा र लेदोले पुरिएको अवस्थामा भेटिएको हो ।

घटना असार २९ गते अपराह्न करिब ३ बजेतिर भएको थियो ।

  • ३२ असार २०८३, बिहीबार ११:४२ प्रकाशित