कर्णालीमा कांग्रेसले तत्काल मन्त्री बनाउन नयाँ नामहरु नपठाउने : विश्वप्रकाश शर्मा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्री बनाउनका लागि तत्काल नयाँ नामहरु नपठाउने भएको छ ।

कर्णाली प्रदेश सरकारबाट कांग्रेसका चार मन्त्रीले बुधबार बिहान सामूहिक राजीनामा दिएका छन् । उनीहरुको स्थानमा तत्काल नयाँ मन्त्री बनाउने गरी नामहरु नपठाउने उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए । ‘कांग्रेसबाट मन्त्री बनेका साथीहरुले राजीनामा दिनुभएको छ । कांग्रेसले तत्कालै नयाँ मन्त्री बनाउन सूची भने बुझाउँदैन,’ शर्माले भने ।

केही समय अघि कांग्रेस र एमाले वीचमा प्रदेश सरकार हेरफेरका लागि संवाद भएको थियो । बजेटपछि प्रदेश सरकार हेरफेर गर्ने गरी दुई पक्षको संवाद रोकिएको थियो । प्रदेश सरकारहरुले बजेट ल्याइसकेको हुँदा मुख्यमन्त्रीहरु परिवर्तनको चर्चा सुरु भएको छ । अन्य प्रदेश सरकार परिवर्तन गर्न छलफल हुँदा कर्णालीको पनि टुंगिने उपसभापति शर्माले जानकारी गराए ।

उपसभापति शर्मा विगतमा दुई दलका वीचमा भएको संवादकै निरन्तरताका रुपमा कर्णालीका मन्त्रीहरुले सामूहिक राजीनालाई बुझ्नुपर्ने बताए ।कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसबाट मन्त्री बनेकोहरु आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारीले आज राजीनामा दिएका हुन् ।

हाल कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गरिरहेको छ ।

  • ३१ असार २०८३, बुधबार १२:२१ प्रकाशित