सरकार नगर प्रहरीको साथमा छ, मनोबल नघटाउनुस् : मन्त्री लम्साल

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरूलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन् ।

मुगुका गणेश नेपालीले आत्मदाह गरेको घटनापछि सडकमा नदेखिएका नगर प्रहरीलाई मन्त्री लम्सालले मनोबल कमजोर नबनाउन आग्रह गरेका हुन् ।

‘काठमाडौं महानगरपालिकाको नगर प्रहरीहरू मनोबल नघटनाउनुहोला,’ मंगलबार संसद बैठकमा मन्त्री लम्सालले भने, ‘हजुरहरूको कारणले कयौं एबुलेन्स छिटो हस्पिटल पुगेका छन् । कयौंले ज्यान जोगाउनुभएको छ ।’

उनले महानगर प्रहरीको मनोबल गिरेका कारण कति जनाले ज्यान गुमाइसकेको समेत आशंका गरे ।‘हजुरहरूको मनोबल गिरेको भएर अहिले फेरिक कति जनाले ज्यान पनि गुमाइसक्नुभयो होला,’ उनले भने, ‘कसैले यहाँ बोलको चैं छैन ।’

पूर्वाधार विकासमन्त्री लम्सालले सरकार महानगर प्रहरीको साथमा रहेको पनि बताए ।‘आफ्नो जिम्मेबारी राम्रोसँग पूरा गर्नुहोला । हामी हजुरहरूको पक्षमा छौं । साथमा छौं,’ उनले भने ।

मन्त्री लम्सालले परिवर्तन हुन केही समय लाग्ने भएकाले आशावादी रहन पनि आग्रह गरे ।‘परिवर्तन हुन केही समय लाग्छ । आशावादी रहनुहोला,’ उनले भने, ‘हामी एकदम फरक तरिकाले काम गर्दैछौं । सबै मिलेर देश बनाऔं ।’

  • ३० असार २०८३, मंगलवार १५:५९ प्रकाशित