काठमाडौं ।
जनकपुरबाट सुरु भएको ‘मिटरब्याज विरुद्धको (पैदल) न्याय मार्च’ को छैटौँ दिन बाराको निजगढमा नेपाल सरकारका गृहमन्त्री र आन्दोलनरत पक्षबिच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।
निजगढस्थित उद्योग वाणिज्य संघको हलमा भएको वार्तामा मिटरब्याज पीडितहरूले अघि सारेका ६ बुँदे मागका विषयमा छलफल भएको छ । काठमाडौँतर्फ पैदल यात्रामा रहेका पीडितहरूलाई भेट्न र समस्याबारे छलफल गर्न गृहमन्त्री निजगढ पुगेका हुन्।
मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिका प्रवक्ता नवि निर्गका अनुसार पहिलो चरणको वार्ता सकारात्मक रूपमा सम्पन्न भएको र अब दोस्रो चरणको वार्ताका लागि तयारी भइरहेको छ ।
प्रवक्ता निर्गले भने, ‘निजगढस्थित उद्योग वाणिज्य संघको हलमा गृहमन्त्रीसँग हाम्रा ६ बुँदे मागबारे पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दोस्रो चरणको वार्ताको लागि सरकार र आन्दोलन दुवै आन्तरिक गृहकार्यमा जुटेका छौँ।
आफ्ना मागहरू पूरा गराउन र विगतमा भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयनका लागि दबाब दिन पीडितहरूले असार २५ गते जनकपुरधामबाट पैदल न्याय मार्च सुरु गरेका थिए । दुवै पक्ष आन्तरिक छलफल र गृहकार्यमा जुटेकाले छिट्टै दोस्रो चरणको वार्ता सुरु हुने सङ्घर्ष समितिले जनाएको छ ।













