जाजरकोट ।
जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. २ राङ्सीमा अविरल वर्षाका कारण पहिरो खस्दा एक जनाको ज्यान गएको छ। राङ्सीस्थित एक अस्थायी टहरामाथि ढिस्को खसेर पुरिँदा ६७ वर्षीया जयशिला शाहको घटनास्थलमै ज्यान गएको हो।
भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदानबाट उक्त टिनको अस्थायी टहरा निर्माण गरिएको थियो। पहिरोमा परी मृतककी छोरी ४० वर्षीया मेनुका शाह थापा र नातिनी ७ वर्षीया टिका थापा घाइते भएका थिए। उनीहरूलाई स्थानीय बासिन्दाले उद्धार गरेका छन्।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पाँचकटियाबाट प्रहरी सहायक निरीक्षक प्रेम केसीको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले घटनास्थल पुगेर क्षेत्रलाई सुरक्षित राख्ने काम गरेको छ ।













