कारोबारको अन्तिम दिन आज पनि घट्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएपछि नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० परिसूचक निरन्तर घटेको छ । पछिल्ला तीन कारोबार दिनमा नेप्से सूचक कुल ५० अंक घटेको हो ।

राष्ट्र बैंकले मंगलबार मौद्रिक नीति ल्याएको थियो । त्यसपछि बुधबार खुलेको सेयर सूचक ३०.०९, बिहीबार १९.६७ र आज शुक्रबार १.१३ अंक घटेको हो । शुक्रबार बजार सूचक घटे पनि कारोबार रकम भने २ अर्बले बढेको नेप्सेले जनाएको छ ।

मौद्रिक नीति सार्वजनिकपछि दोस्रो दिन बजार घटेको हो । संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण हुने विषय मौद्रिक नीतिमा उल्लेख छ । यसले बजारमा केही अन्योल बढेको छ ।

शुक्रबार कारोबार सुरु हुँदा २६०१.९२ अंकमा रहेको नेप्से १.१३ अंक घटेर २६००.७८ बिन्दुमा कायम भएको छ । बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार बढेर ६ अर्ब ८६ करोड पुगेको छ ।

शुक्रबार कारोबारको पहिलो समयमा २० अंकसम्म बढेको नेप्से सूचक घटेर बन्द भएको हो । नेप्सेमा १ सय २० कम्पनीको मूल्य बढ्दा १ सय ३५ को घट्यो भने १९ को स्थिर रह्यो ।

हाल १ सय ८० दिनको औसत मूल्य वा वर्तमान मूल्यमध्ये जुन कम हुन्छ, त्यसकै ७० प्रतिशतसम्म सेयर कर्जा उपलब्ध हुँदै आएको छ ।

  • २६ असार २०८३, शुक्रबार १६:२१ प्रकाशित