श्रीलंकाको नेगोम्बो जेलमा सोमबार बिहान भएको हिंसाका कारण २५ जनाको ज्यान गएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।
बीबीसीका अनुसार ज्यान गुमाउनेहरूमा तीन जना प्रहरी अधिकारी पनि रहेका छन्। आइतबार पनि यसै जेलमा झडप भएको थियो, जसमा दुई जनाको ज्यान गएको थियो भने ३९ जना घाइते भएका थिए।
यद्यपि, आइतबार नेगोम्बो जेलभित्रको तनावपूर्ण स्थितिलाई अधिकारीहरूले नियन्त्रणमा लिएको दाबी गरेका थिए। तर सोमबार जेलभित्र पुनः अशान्ति फैलिको र जेलभित्र भित्रबाट लगातार गोली चलेको आवाज सुनिएको बताइएको छ।
जेल आयुक्त तथा जेल मिडिया प्रवक्ता एसी गजानायकेले मिडियालाई दिएको जानकारी अनुसार कैदीहरूका दुई समूहबीच भएको झडप थियो। आइतबार भएको झडपलाई अधिकारीहरूले सुल्झाएका थिए, तर सोमबार बिहान फेरि हिंसा मच्चियो।
उनले हिंसा शान्त पार्न पुगेका जेल अधिकारीहरूमाथि कैदीहरूले आक्रमण गरेको बताए। उनका अनुसार त्यस समयमा जेल अधिकारीहरू मुख्य ढोकातर्फ दौडिएका थिए र कैदीहरूले उनीहरूको पीछा गर्दै आक्रमण गरेका थिए।
कैदीहरूले पछि जेलको मुख्य ढोका तोड्ने प्रयास गरेपछि जेल अधिकारीहरूले उनीहरूलाई नियन्त्रणमा लिन न्यूनतम बल प्रयोग गरेका थिए।












