बुटवल ।
सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै काठमाडौंमा आन्दोलन गरिरहेका नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दा गृह मन्त्रालयबाट माग सम्बोधन गर्ने प्रतिबद्धता आएपछि आन्दोलन स्थगित गरेर फर्किएका छन् ।
गत मंगलबारदेखि काठमाडौंमा धर्ना तथा प्रदर्शन गर्दै आएका आन्दोलनकारीहरूको टोली आइतबार बिहान सुस्ता पुगेको आन्दोलनका संयोजक बाबु खाँले जानकारी दिए ।
उनका अनुसार गृह मन्त्रालयले सुस्ता क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै थप सुरक्षाकर्मी परिचालन गर्ने, नागरिकता नपाएका व्यक्तिहरूको विवरण तयार गर्ने तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउने विषयमा पत्राचार गरेपछि आन्दोलन स्थगित गर्ने निर्णय गरिएको हो ।
संयोजक खाँले सुस्तामा फर्किएपछि जिल्ला प्रशासन कार्यालयसँग थप छलफल गर्ने तयारी रहेको बताए । आइतबार बिदामा रहेकाले सोमबार आन्दोलनकारीहरूको टोली जिल्ला प्रशासन कार्यालय पुगेर मन्त्रालयको प्रतिबद्धता कार्यान्वयनबारे छलफल गर्ने योजना रहेको उनले बताए ।
५० भन्दा बढी सुस्तावासी काठमाडौं पुगेर सीमा अतिक्रमण रोक्न, भूमि संरक्षण गर्न तथा वर्षौँदेखि बसोबास गर्दै आएका स्थानीयलाई नागरिकता र लालपुर्जा वितरण गर्नुपर्ने तीन प्रमुख मागसहित आन्दोलनमा सहभागी भएका थिए ।
आन्दोलनका क्रममा उनीहरू गौशालाबाट नारा–जुलुससहित माइतीघर मण्डलामा पुगेर धर्नामा बसेका थिए। गृह मन्त्रालयबाट माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएपछि उनीहरूले हालका लागि आन्दोलन स्थगित गरी गाउँ फर्किएको बताएका छन् ।












