पेरिस।
फ्रान्स, स्पेन लगायत पश्चिमी र मध्य युरोपका विभिन्न देशहरूमा अत्यधिक गर्मी बढेपछि ‘रेड अलर्ट’ जारी गरिएको छ। आउँदा दिनहरूमा तापक्रम थप बढ्ने र ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने पूर्वानुमान गरिएपछि जनजीवन प्रभावित बनेको छ।
फ्रान्सका आधाभन्दा बढी क्षेत्रहरूमा अहिले कडा मौसम चेतावनी जारी गरिएको मौसम पूर्वानुमान एजेन्सी मेटिओ(फ्रान्सले जनाएको छ। सोमबार बोर्डो सहरमा तापक्रम ४२ डिग्री सेल्सियस पुगेको थियो भने अत्यधिक गर्मीकै कारण सयौँ विद्यालयहरू बन्द गर्न आदेश दिइएको छ।
यसैबिच, दक्षिण फ्रान्सको कार्पेन्ट्रास सहरमा दुई र चार वर्षका दुई बालबालिका आफ्नै कारभित्र मृत फेला परेका छन्, जसलाई मौसमको चरम अवस्थासँग जोडिएको छ। जर्मनी, इटाली, स्विट्जरल्यान्ड र लक्जमबर्गका अधिकारीहरूले पनि आफ्ना देशमा यस्तै प्रकारको रेड अलर्ट जारी गरेका छन्। साहारा मरुभूमिबाट उत्तरतर्फ सरेको तातो हावाका कारण तापक्रम बढेको र यसले प्रभावित क्षेत्रहरूमा तातो हावालाई थुनेर राखेकाले यो हालैका वर्षहरूकै सबैभन्दा लामो हिटवेभ ९तातो हावाको लहर० हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
वैज्ञानिकहरूका अनुसार बारम्बार आउने यस्तो तातो हावाको लहर ग्लोबल वार्मिङ को सङ्केत हो। मेटिओ(फ्रान्सका अनुसार सन् १९४७ यता फ्रान्समा रेकर्ड गरिएका ५१ वटा हिटवेभमध्ये ३४ वटा सन् २००० यता र २६ वटा सन् २०११ यता भएका छन्।
युरोपका धेरै भागहरूमा बुधबार तापक्रम उच्च विन्दुमा पुग्ने अपेक्षा गरिएको छ, जहाँ पेरिसको तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने अनुमान छ। राजधानी पेरिसमा सोमबार धेरै रेल लाइनहरूले आफ्ना सेवाहरू कटौती गरेका छन्। फ्रान्सको राष्ट्रिय रेलवे अपरेटर एसएनसीएफले जोखिममा रहेका मानिसहरूलाई यस हप्ता रेल यात्रा नगर्न वा स्थगित गर्न आग्रह गरेको छ।
शिक्षा मन्त्रालयका अनुसार फ्रान्सका करिब ८४५ विद्यालयहरू पूर्ण रूपमा बन्द गरिएका छन् भने अन्य १,८०० विद्यालयका विद्यार्थीहरूलाई कक्षा चाँडै सकिने व्यवस्था मिलाइएको छ। यद्यपि, गर्मीका बिच पनि १० लाखभन्दा बढी उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले स्नातकका लागि आफ्नो अन्तिम परीक्षा दिइरहेका छन्।
दक्षिण फ्रान्समा कारभित्र मृत फेला परेका बालबालिकाको मृत्युको पूर्ण परिस्थिति अझै स्पष्ट भइसकेको छैन। तर उनीहरू आफ्नी आमासँग किनमेल गरेर फर्किएका थिए र ३९ डिग्री सेल्सियसको गर्मीका बिच झ्यालहरू बन्द भएको कारभित्र थुनिएको बताइएको छ।
यसैबिच, फ्रान्सेली सरकारले सप्ताहान्तमा नदी र तालहरूमा डुबेर १३ जनाको ज्यान गएपछि मानिसहरूलाई रेखदेख नहुने असुरक्षित क्षेत्रहरूमा पौडी नखेल्न र शीतलता खोज्ने प्रयास नगर्न आग्रह गरेको छ। दक्षिण(पश्चिमी गिरोन्डे क्षेत्रमा आइतबार स्थानीय अधिकारीहरूले ८० देखि ९५ वर्ष उमेरका तीन जनाको अत्यधिक गर्मीका कारण ज्यान गएको बताएका थिए।
एजेन्सी













