काठमाडौं ।
चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालले करिब ३८ अर्ब रुपैयाँ बराबरको धानचामल आयात गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आव साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको ७ लाख ११ हजार ५ सय २० टन धानचामल आयात भएको हो ।गत आव २०८१/८२ सोही अवधिको तुलनामा समग्र धानचामल आयात परिमाण र बाहिरिने रकम दुवैमा सामान्य गिरावट आएको देखिन्छ ।
गत आव ११ महिनामा ३८ अर्ब ९४ करोड २८ लाख बराबरको ७ लाख ५३ हजार ३ सय ५ टन धानचामल नेपाल भित्रिएको थियो ।त्यस्तै सोही अवधिमा १९ अर्ब ९९ करोड ९ लाखभन्दा बढी मूल्यको ५ लाख २१ हजार २ सय ६९ टन कच्चा धान आयात भएको थियो ।
तर, चालु आव भने यो परिमाण घटेर ४ लाख ६१ हजार १ सय ८ टनमा सीमित भएको छ, जसका लागि १७ अर्ब २३ करोड ७२ लाख रुपैयाँ बाहिरिएको छ ।
कच्चा धान आयात घटे पनि धानको बिउ आयात भने केही बढेको छ । गत वर्ष १ अर्ब १६ करोड ६२ लाख बराबरको २ हजार ५ सय ७० टन बिउ आयात भएकोमा यस वर्ष १ अर्ब २९ करोड ९४ लाख बराबरको २ हजार ९ सय ९३ टन धानको बिउ आयात भएको छ ।
यस्तै कनिका र ब्राउन राइस आयात पनि वृद्धि भएको छ । गत वर्ष २८ करोड ५ लाख बराबर ६ हजार ८ सय २ टन कनिका आयात भएकोमा चालु वर्ष बढेर ३५ करोड १ लाख बराबरको ८ हजार ६ सय ८९ टन भित्रिएको छ । त्यस्तै ब्राउन राइस आयात पनि ४।३५ टनबाट बढेर ७.०७ टन पुगेको छ ।
गत आव ११ महिनामा यी वस्तु आयातबाट सरकारले ३ अर्ब ५३ करोड ६१ लाख राजस्व संकलन गरेको थियो । तर, चालु आव सोही अवधिमा यस्तो राजस्व घटेर २ अर्ब ६१ करोड ६२ लाखमा सीमित भएको छ ।













