काठमाडौं ।
नेपालस्थित साउदी अरेबियाको दूतावासले नेपाली श्रमिकका लागि लागु गरिएको सिप प्रमाणीकरण (स्किल सर्टिफिकेसन) कार्यक्रम (एसभीपी) नरोकिने प्रष्ट पारेको छ ।
नेपालबाट वैदेशिक रोजगारीका लागि साउदी जाने श्रमिकहरूको सिप प्रमाणीकरण अनिवार्य गरिएको र त्यो नरोकिने प्रष्ट पारेको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिहरूसँगको भेटका क्रममा नेपालका लागि साउदी राजदूत फहद मोनाइकिरले साउदी सरकारको आधिकारिक नीति भएकाले यसलाई स्थगित नगर्ने स्पष्ट पारेका हुन् ।
काठमाडौंको धापासीमा स्किल भेरिफिकेसन सेन्टर स्थापना तयारी गरिएको थियो । म्यानपावर व्यवसायीहरूको विरोधपछि कार्यालय स्थापना रोकिएको थियो भने केन्द्रले एक सूचना जारी गर्दै स्किल भेरिफिकेसन कार्यक्रम तत्कालको लागि स्थगित भएको जनाएको थियो । यद्यपि यो कार्यक्रम जुलाइ १ देखि लागु हुने दूतावासले जनाएको छ ।
विरोध प्रर्दशनपछि संघको प्रतिनिधिमण्डलले कुपोन्डोलस्थित साउदी दूतावास पुगेर राजदूतसँग भेट गरेको थियो ।













