काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् । महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेको बताएका छन् ।
‘पार्टी छाडेको भन्दा पनि सम्पूर्ण जिम्मेवारीबाट अलग भएको हुँ । पार्टीप्रति कुनै वितृष्णा भएर होइन’, उनले भने ।
विगत ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा निरन्तर सक्रिय रहँदै आएका महराले आफू ‘एट्रोफी’ सम्बन्धी नसा र मांसपेशीको समस्याबाट पीडित रहेको बताएका छन् । । नियमित उपचार, थेरापी र औषधि सेवन गर्दा पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएकाले पार्टीका नियमित गतिविधि र जिम्मेवारी वहन गर्न कठिन भएको महराले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेन । परिणामस्वरूप, पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतजस्तै सक्रिय, प्रभावकारी र जिम्मेवार ढङ्गले योगदान गर्न कठिन हुँदै गएको छ,’ वक्तव्यमा भनिएको छ ।
आफ्नो यो निर्णय कुनै राजनीतिक असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई विशुद्ध स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थिति मात्र भएको महराले प्रस्ट पारे ।
उनले भनेका छन्, ‘पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु ।’ ४८ वर्षे राजनीतिक यात्रामा साथ दिने सबै साथीहरू, जनता र परिवारप्रति कृतज्ञता व्यक्त गरेका छन् ।













