आजदेखि झापाका चिया उद्योग पनि बन्द, ६० हजार श्रमिकको रोजीरोटी संकटमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन् ।

१ असारदेखि इलामका ५६ उद्योग बन्द भएकोमा आज (४ असार) देखि झापाका ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन चिया बगानहरू पनि पूर्णरूपमा बन्द भएका छन् ।

चियाको पकेट क्षेत्र मानिने इलाम र झापामा उत्पादित चिया गोदाममै थन्किएपछि र सरकारले कूटनीतिक पहलमा बेवास्ता गरेपछि बाध्य भएर आजैदेखि उद्योग बन्द गर्नुपरेको नेपाल चिया उत्पादक संघले जनाएको छ ।

संघ अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गरेको अवरोध खुलाउन बारम्बार सरकारी निकायमा धाउँदा पनि कुनै सुनुवाइ नभएपछि व्यवसायीहरू यो कदम चाल्न बाध्य भएका हुन् ।

निर्यात ठप्प हुँदा उद्योगका गोदामहरू तयारी चियाले भरिभराउ छन् भने दैनिक काम प्रभावित भएको छ ।

उत्पादित चिया नै बिक्री नभएपछि कारखानामा काम गर्ने मजदुर तथा कर्मचारीलाई तलब दिनसमेत नसक्ने अवस्था सिर्जना भएको व्यवसायीहरू बताउँछन् ।भारतले चिया निर्यातमा लगाएको अवरोध नहटेसम्म बन्दका कार्यक्रम फिर्ता नहुने संघले चेतावनी दिएको छ ।

झापा नेपालकै सबैभन्दा ठूलो चिया उत्पादन हुने जिल्ला हो । यहाँ सीटीसी र अर्थोडक्स गरी वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने गर्दछ ।व्यवसायीहरूको तथ्यांक अनुसार कुल उत्पादनमध्ये ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारतमा मात्रै निर्यात हुँदै आएको छ ।

यसरी चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष रूपमा आश्रित करिब ६० हजार श्रमिक, कर्मचारी र किसानको रोजीरोटी गम्भीर संकटमा परेको छ ।

  • ४ असार २०८३, बिहीबार १४:५६ प्रकाशित