पासपोर्ट प्रकरणमा आरजु राणा पनि तानिइन्, अख्तियारद्वारा बयानका लागि म्याद तामेल

केन्द्रभाग मिडिया

काठमाडौं।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणको अनुसन्धानमा पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा पनि तानिएकी छिन् ।

राणालाई बयानका लागि म्याद तामेल गरेको छ । आयोगले राणाको घर ठेगानामा सूचना टाँस गरेर म्याद तामेल गरेको बुढानीलकण्ठ नगरपालिका वडा २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

आयोगले गत मंगलबार देउवाको भग्नावशेष निवासमा आरजु राणाको नाममा ३५ दिनभित्र बयानका लागि उपस्थित हुनका लागि म्याद तामेल गरेको हो। देउवा दम्पत्ति उपचारका लागि भन्दै ४ महिना अघि सिंगापुर गएका थिए । सिंगापुरबाट नेपाल नफर्केकाले राणाका घर ठेगानामा आयोगले म्याद तामेल गरेको हो ।

उक्त ठेक्का प्रकरणमा आरजुको प्रत्यक्ष संलग्नता नदेखिए पनि परराष्ट्रमन्त्रीको हैसियतमा उनको पनि संलग्नता हुन सक्ने आशंकाका कारण आयोगले बयानमा बोलाएको हो । आयोगमा भएको कागजात केलाउँदा, गत वर्षको पासपोर्ट खरिद प्रक्रियामा उनले निर्णय गरेको देखिँदैन तर निर्देशन दिएको भन्ने आधारमा मात्रै बयानमा बोलाउन लागेको हो ।

जर्मनको विदेशी दुई कम्पनीलाई राजनीतिक पहुँचको आधारमा ठेक्का दिलाइएको आरोप लाग्दै आएको छ ।आयोगले आज मात्रै जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिलाई बयानका लागि बोलाएको छ ।

आयोगले बिहीबार सूचना जारी गर्दै ई–पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बयानका लागि बोलाएको छ । आयोगले विद्युतीय राहदानी खरिद प्रक्रियामा भएको भनिएको अनियमितताका सम्बन्धमा अनुसन्धानका लागि दुई वटा जर्मन कम्पनी र तिनका प्रतिनिधिहरूलाई उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।

  • ४ असार २०८३, बिहीबार १४:११ प्रकाशित