गण्डकी सरकारले सच्यायो पर्यटन मन्त्रालयको बजेट

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारले माफी माग्दै बजेट वक्तव्यमा उल्लेख भएको उद्योग तथा पर्यटन मन्त्रालयको बजेट रकम सच्याएको छ ।

असार १ गते सार्वजनिक गरिएको बजेटमा २ अर्ब रुपैयाँ उल्लेख गरिए पनि वास्तविक विनियोजन ९२ करोड ४९ लाख रुपैयाँ रहेको भन्दै अर्थमन्त्री जितबहादुर शेरचनले बुधबार प्रदेश सभालाई जानकारी गराएका हुन् ।

बजेट वक्तव्यको बुँदा नम्बर ५६ मा उद्योग तथा पर्यटन क्षेत्रका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको उल्लेख थियो । तर, मन्त्रालयगत बजेट र रातो किताबमा रहेको रकमसँग उक्त अंक नमिलेपछि प्रश्न उठेको थियो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित मन्त्रीहरूको छलफलले वक्तव्यलाई मिलाउनुभन्दा त्रुटि सच्याएर संसदलाई जानकारी गराउने निष्कर्ष निकालेको थियो ।

प्रदेश सभामा अर्थमन्त्री शेरचनले ‘बुँदा नम्बर ५६ मा ९२ करोड ४९ लाख रुपैयाँ हुनुपर्नेमा अन्यथा उल्लेख भएको’ भन्दै मन्त्रालयको तर्फबाट भएको कमजोरीप्रति क्षमायाचना गरेका थिए । ‘बुँदा नम्बरमा ५६ मा ९२ करोड ४९ लाख हुनुपर्नेमा अन्यथा भएको जानकारी चाहन्छु’, अर्थमन्त्री शेरचनले संसदमा भने, ‘मन्त्रालयको तर्फबाट भएको कमजोरीको आत्मसात गर्दै क्षमा चाहन्छु ।’

३२ अर्ब ९९ करोड रुपैयाँको प्रदेश बजेटमा उद्योग तथा पर्यटन क्षेत्रका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको उल्लेख भएपछि रकम मिलाउने प्रयाससमेत आन्तरिक छलफल भएको थियो । अन्ततः सरकारले त्रुटि स्वीकार गर्दै वास्तविक रकमबारे संसदलाई जानकारी गराएको हो ।

  • ४ असार २०८३, बिहीबार १३:४९ प्रकाशित