अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याएको भन्दै कांग्रेसको आपत्ति

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र पदाधिकारीहरूलाई नियन्त्रणमा लिएर दबाब दिएको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले पत्रकार सीताराम बरालको ‘फेसबुक लाइभ’ मार्फत सार्वजनिक भएको विषयलाई उद्धृत गर्दै यस्तो गम्भीर आरोप लगाएका हुन् ।

सांसद केरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र अन्य पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयभित्रै थुनेर पक्राउ पुर्जी जारी गर्न बाध्य पारिएको दाबी गरे ।

‘संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानमन्त्री कार्यालयको कोठाभित्रै थुन्ने र धम्कीका साथ पक्राउ पुर्जी जारी गर्न लगाइएको विषय बाहिर आएको छ,’ केरुङले भने, ‘यदि यो साँचो हो भने यो लोकतन्त्र र सुशासनको नाममा लज्जास्पद हर्कत हो।’

उनले यस विषयमा सत्य तथ्य पत्ता लगाउन तत्काल ‘संसदीय छानबिन समिति’ गठन गर्न माग गरे ।

  • ४ असार २०८३, बिहीबार ११:५१ प्रकाशित