अर्थमन्त्री वाग्लेले तत्काल राजीनामा दिनुपर्छ : एमाले

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदबाट तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।

संसद्मा आर्थिक विधेयक र आय–व्ययको अनुमान समेत प्रस्तुत भइसकेपछि करको दर हेरफेर गर्ने गम्भीर अपराध गरेकाले अर्थमन्त्रीले पदमा बस्ने नैतिक हैसियत गुमाएको उनको तर्क थियो।

सोमबार बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै नेता दंगालले यो विषयमा संसदीय छानबिन समिति गठन गरी अर्थमन्त्रीमाथि कारबाही गर्नुपर्ने बताए। यसका साथै सरकारले ल्याएको बजेटले देशको मूल मर्म अनुसार समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुनै लक्ष्य नलगेको भन्दै उनले कडा असन्तुष्टि व्यक्त गरे।

संसद्मा करको दर हेरफेर भएको घटना र अर्थमन्त्रीको संलग्नताबारे बोल्दै उनले भने, ‘संसद्मा राजस्व र व्ययको अनुमान र आर्थिक विधेयक प्रस्तुत भइसकेपछि करका दरहरू हेरफेर गरियो। यो घटनाको सत्यतथ्य तत्काल छानबिन गर्न जरुरी छ र दोषउपर कडा कारबाही गर्न जरुरी छ। यत्रो घटना नेतृत्वको संलग्नता बेगर सम्भव नै छैन। त्यसो हुनाले अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्दछ, संसदीय छानबिन समिति गठन गर्नुपर्दछ।’

 

  • १ असार २०८३, सोमबार १७:०७ प्रकाशित