एमाले प्रचार विभाग प्रमुख आचार्यले गरे पदभार ग्रहण

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पदभार ग्रहण गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणलगत्तै उनले सूचना र प्रविधिको युगमा प्रचारप्रसारको शैलीलाई आधुनिक र प्रभावकारी बनाउन प्रयास गर्ने बताए ।पार्टीको विचारलाई डिजिटलमाध्यमबाट हरेक नागरिकसम्म पुर्‍याउने प्रतिवद्धता पनि उनले व्यक्त गरे । अब एमालेको प्रचार कार्य परम्परागत सीमाभन्दा माथि उठेर डिजिटल सञ्चारमा केन्द्रित हुने उनको भनाइ छ ।

‘हाम्रो विचार–डिजिटल सञ्चार, अब एमालेको विचार हरेक नागरिकको मोबाइल स्क्रिन र मन–मनमा पुग्नेछ,’ प्रचार तथा प्रकाशन विभाग प्रमुख आचार्यले भने, ‘हामी प्रविधिलाई पछ्याउने मात्र होइन, प्रविधिको नेतृत्व गर्ने विभागका रूपमा अघि बढ्नेछौँ।’

आचार्यले पार्टी, नेतृत्व र विचारविरुद्ध फैलाइने भ्रम तथा दुष्प्रचारको सत्य र तथ्यका आधारमा प्रतिवाद गरिने बताए।‘हामी प्रोपोगान्डा र दुष्प्रचार गर्दैनौँ, तर विरोधीका हरेक भ्रमलाई सत्यको बलले ध्वस्त पार्नेछौँ। सत्यभन्दा शक्तिशाली कुनै प्रचार हुँदैन,’ उनले भने।

आचार्यले आफू विभागको ‘कमान्डर’ नभई सबैको ‘सहयात्री’ का रूपमा काम गर्न आएको उल्लेख गर्दै सामूहिक नेतृत्व, टिमवर्क र आधुनिक कार्यशैलीलाई प्राथमिकता दिने बताए।

आचार्यले पार्टी नेतृत्वप्रति विश्वास र जिम्मेवारीका लागि आभार व्यक्त गरे । साथै, विभागलाई अहिलेको अवस्थामा पुर्‍याउन योगदान दिने निवर्तमान नेतृत्व र टोलीप्रति धन्यवाद व्यक्त गर्दै हिजोका उपलब्धिलाई निरन्तरता दिँदै नयाँ ऊर्जा र प्रविधिसहित विभागलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

  • १ असार २०८३, सोमबार १४:५४ प्रकाशित