प्रधानमन्त्रीको अभिव्यक्ति लज्जास्पद र गैरजिम्मेवार : आङ्देम्बे

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले ‘नेपालले पनि भारतको सिमाना मिचेको छ’ भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको आलोचना गरेका छन्।

संघीय संसद प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले बालेनको उक्त अभिव्यक्तिलाई ‘आपत्तिजनक, गैरजिम्मेवार र लज्जास्पद’ भन्दै सांसदले प्रधानमन्त्रीको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठाए ।

सम्बोधनका क्रममा उनले नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको भन्दै प्रधानमन्त्रीले वीर गोर्खालीको स्वाभिमानमाथि प्रधानमन्त्रीले चोट पुर्‍याएको आरोप लगाए। गोपाल योञ्जनको देशभक्तिपूर्ण गीत ‘खोसेको रोटीले मेरो पेट भरिन्न’ को स्मरण गर्दै उनले नेपाली जनताले सगरमाथा जत्रै स्वाभिमान बोकेर बाँच्न चाहेको तर प्रधानमन्त्रीले भने छिमेकीको सिमाना मिचेको भन्दै आत्मसमर्पणवादी धारणा राखेको बताए।

‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भन्ने कुरा यो संसदले नक्सा पारित गरेर दुनियाँलाई देखाइसकेको छ,’ उनले भने, ‘तर आज हाम्रै प्रधानमन्त्रीले ‘हामीले पनि मिचेका छौँ’ भन्नु कतिसम्म लज्जास्पद कुरा हो ? के उहाँले हिसाब बराबर गर्न खोज्नुभएको हो ?’

सत्तारुढ दल र विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूप्रति लक्षित गर्दै उनले प्रधानमन्त्रीको यस्तो राष्ट्रघाती अभिव्यक्ति आउँदा विरोध गर्नुको साटो टेबल ठटाएर समर्थन गरेको दृश्य इतिहासकै सबैभन्दा दुखद र लज्जास्पद भएको बताए।

प्रधानमन्त्रीको अभिव्यक्तिका कारण अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको छवि बिग्रने र गलत सन्देश जाने भन्दै उनले चिन्ता व्यक्त गरे।

  • २७ जेष्ठ २०८३, बुधबार १६:५८ प्रकाशित