काठमाडौं ।
नेकपा एमालेले सांसद बैठकको विरोध विरोधका निम्ति विरोध मात्र नगरेको बताएको छ ।मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद क्षितिज थेबेले आफूहरूले राष्ट्रियताको विषय आज नबोले इतिहासले माफ नगर्ने बताए ।
एमालेसहित प्रतिपक्ष दलले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर निरन्तर जवाफ मागिरहेका छन् ।
‘प्रधानमन्त्रीज्यूले दिनुभएको यो अभिव्यक्तिलाई तुरुन्त निरूपण गर्नुपर्नेछ। उहाँले सदनमार्फत मुलुक र जनताप्रति भुलचुक माफी मागेर आफ्नो अभिव्यक्ति सच्याएर अगाडि बढ्नुपर्छ’, सांसद थेबेको भनाइ छ । साथै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरेको चलखेलप्रति पनि प्रश्न उठाए ।
‘यति धेरै ठुलो चलखेल भएछ, यसलाई क्यासमा बदल्ने हो भने त एउटा भरियाले बोक्न नसक्ने रहेछ, यो त ठुलो ट्रक चाहिन्छ रहेछ’, उनले भने, ‘संसदमा दर्ता भएको आर्थिक विधेयक र मन्त्रालयको वेबसाइटमा अपलोड भएको आर्थिक विधेयक फरक छ । यसलाई संसदले गम्भीर रूपमा लियोस् र अर्थमन्त्रीज्यूले नैतिक रूपले यसको जिम्मेवारी लिनुहुनेछ भन्ने ध्यानाकर्षण गराउन चाहन्छु ।’












