काठमाडौं ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एसईई र कक्षा ११–१२ को परीक्षामा सहभागी भएका विद्यार्थीको जफत गरिएको मोबाइल पानीमा हालेर नष्ट गर्ने कार्य गैरकानुनी भएको बताएका छन् ।
मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को बैठकपछि सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले यो कार्य गैरकानुनी भएको भन्दै प्रदेश शिक्षा मन्त्रालयले आवश्यक कदम चाल्नुपर्ने बताए।
पोखरेलले भने,‘त्यो गैरकानुनी छ । कसैको सम्पत्ति त्यसरी नष्ट गरिनु गैरकानुनी कार्य हो । विभिन्न मिडियामा शिक्षा मन्त्रालयको निर्देशन भन्नेपनि आएको रहेछ । मैले यस विषयमा सामाजिक सञ्जालमा पनि प्रष्ट पारिसकेको थिएँ । संघीय सरकारबाट त्यस्तो कुनै पनि निर्देशन दिइएको छैन। प्रदेश मन्त्रालयले दिएको निर्देशन रहेछ । प्रदेशले आवश्यक कदम चाल्नुपर्छ । त्यो गैरकानुनी हो । कानुनी प्रक्रिया हुन्छ । कसैले कानुनी प्रक्रियामा गएर अदालतले क्षतिपूर्ति दिनु भन्यो भने त दिनुपर्छ।’
जिल्ला प्रशासन कार्यालय सिराहाले एसईई र कक्षा ११–१२ को परीक्षामा सहभागी भएका विद्यार्थीको जफत गरिएको मोबाइल पानीमा हालेर नष्ट गरेको थियो।












