रास्वपालाई असफल हुने छुट छैन : सांसद न्यौपाने

केन्द्रभाग मिडिया

तनहुँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन् ।

रास्वपा तनहुँ जिल्ला समितिको आज आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले देशको ठूलो शक्ति रास्वपामाथि जनताको आशा र भरोसा रहेकाले यो पार्टीलाई असफल हुने छुट नरहेको उल्लेख गरे ।

न्यौपानेले विगतका सरकार आफ्नै झगडाबाट अपदस्थ भएको चर्चा गर्दै करिब दुई तिहाइ नजिक रहेको वर्तमान सरकारलाई अन्य शक्तिबाट आफ्नैबाट खतरा रहेको बताए ।

‘बाहिरको सङ्ख्या अत्यन्तै न्यून छ, रास्वपाको सङ्ख्या बढ्दो छ । अन्य पार्टीबाट रास्वपामा आएकाले विगतको स्कुलिङ त्याग्नुपर्छ । राणातन्त्र, राजतन्त्रको अन्त्य पनि आफ्नैभित्रको कारणले भएको हो । पुराना दल पनि चकनाचुर भएका आफ्नै पार्टीभित्रको द्वन्द्वले हो,’ उनले भने ।

देश परिवर्तन गर्ने सङ्कल्प बोकेर जन्मिएको रास्वपालाई बलियो शक्तिका रूपमा विकास गर्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै उनले पार्टीभित्र सहमति र सहकार्यलाई सधैँ निरन्तरता दिनुपर्ने चर्चा पनि गरे ।

सांसद न्यौपानेले जुन आशा, भरोसाका कारण रास्वपालाई करिब ५२ लाख मत प्राप्त भएको छ विगतबाट पाठ सिकेर अगाडि बढ्दै जनताको भरोसालाई गन्तव्यसम्म पुर्‍याउनुपर्ने बताए ।

सो क्रममा रास्वपा गण्डकी प्रदेशका प्रवक्ता शङ्कर पन्तले पार्टीमा को पहिला आयो, को पछि आयो भन्ने कुरा ठूलो नभएको बताउँदै सङ्गठनलाई बलियो बनाउनु अहिलेको प्रमुख माग रहेको बताए । रासस

  • २४ जेष्ठ २०८३, आईतवार १७:०४ प्रकाशित