पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २६ माझको डाँडामा दिउँसै चोरी गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन्। स्थानीय धन बहादुर खड्काको घरमा कोही नभएको मौका छोपेर चोरी गरिरहेका काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का ३६ वर्षीय राजन तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
गत शुक्रबार बिहान साढे ११ बजेको समयमा खड्काको घरमा कोही नभएको मौका छोपी तामाङले घरको मूल ढोका र भित्रका कोठाहरूको ताल्चा फोडेका थिए। कोठाभित्र रहेको दराज समेत तोडफोड गरी धनमाल चोरी गरिरहेको अवस्थामा स्थानीय बासिन्दाले चाल पाएका थिए। स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेपछि तामाङ त्यहाँबाट भाग्न खोजेका थिए।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय कास्की मातहतमा रहेको इलाका प्रहरी कार्यालय शिशुवाको प्रहरी टोली तत्काल घटनास्थलमा परिचालन भएको थियो। प्रहरीले भाग्दै गरेका तामाङलाई ताल्चा तोडफोड गर्न प्रयोग गरिने फलामको औजारसहित नियन्त्रणमा लिन सफल भएको हो।
कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार पक्राउ परेका तामाङ विरुद्ध कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ। उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएर चोरी तथा डाँका उद्योग सम्बन्धी कसूरमा अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको छ।












