काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ। शनिबार र आइतबार ७७ वटै जिल्लामा हुने अधिवेशनका लागि तीन सदस्यीय समिति गठन भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।
‘अधिवेशनका लागि ७७ वटै जिल्लामा तीन सदस्यीय निर्वाचन समिति बनेको छ ।’केसीले भने
बागमती र मधेसका केही पालिकामा उजुरी परेकाले अधिवेशन स्थगित भएको तथा कतिपय स्थानमा फेरि निर्वाचन गर्न निर्देशन दिएको उनले जानकारी दिए ।
रास्वपाको मौजुदा विधान अनुसार एक सभापति, एक उपसभापति, एक सचिव, एक सहसचिव, समावेशी सदस्य पाँच, प्रत्येक निर्वाचन क्षेत्रबाट एकरएक जना जिल्ला अधिवेशनबाट निर्वाचित हुनेछन्।
सभापतिले निर्वाचित समितिबाट एक जना कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ । कुल जिल्ला समिति बिजोर हुने गरी सभापतिले दुई वा तीन जना मनोनीत गरेर जिल्ला समिति गठन गर्न सक्नेछ।
यसअघि जेठ २६ गतेबाट हुने प्रदेश अधिवेशनका लागि आयोगले कर्णाली र सुदूरपश्चिम बाहेक सबै प्रदेशमा अधिवेशनको समन्वयन, सहजीकरण र प्रदेश निर्वाचन आयोग गठन गर्न केन्द्रीय निर्वाचन आयोगका सदस्यहरूलाई जिम्मेवारी तोकेको थियो ।
आगामी असार ७, ८ र ९ गते चितवनमा रास्वपाको प्रथम महाधिवेशन हुनेछ।











