काठमाडौं ।
नेपाल वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको हो । सरकारले आवेदन माग गरी प्रतिस्पर्धाबाट नेपाल वायु सेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो ।
निगमको सञ्चालक समितिमा प्रतिस्पर्धामार्फत छनोट गरिँदै गर्दा आफू अन्यायपूर्वक सूचीबाट बाहिरिएको दाबी गर्दै उपेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही मुद्दाको प्रारम्भिक सुनुवाइपछि अदालतले प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायु सेवा निगमको छनोट समितिका नाममा अन्तरिम आदेश भएको हो ।












