पोखरा ।
पोखराको न्यूरोड क्षेत्रका व्यवसायीले सडकका दुवैतर्फ पार्किङ गर्न पाउनुपर्ने माग गरेका छन् । पोखरा महानगरपालिकाले प्रहरीसँगको समन्वयमा फुटपाथ क्लियर गर्ने अभियान चलाएपछि व्यावसायीहरुले सो माग गरेका हुन् ।
सडकमा पनि एकतर्फ मात्रै पार्किङ गर्न पाउने गरी महानगरले निर्णय गरेको छ । यसरी एकतर्फी पार्किङ हुँदा अर्को क्षेत्रका व्यवसायीले घाटा व्यहोर्नुपरेको पीडित पक्षको गुनासो छ । पोखरा महानगरले न्यूरोडको पूर्वी भागमा मात्र सवारी पार्किङ व्यवस्था गरेको छ ।
यसले ग्राहकलाई बाटो काटेर पारि जान कठिनाइ भएकोले आफूहरूको व्यापारमा समस्या परेको उनीहरुले बताए । उनीहरुले न्यूरोडको पश्चिमी भागका सबैजसो घरमा दुबैतर्फ व्यवस्थित पार्किङ हुनुपर्ने माग राख्दै ब्यानर टाँसेका छन् ।
उनका अनुसार डेढ सातादेखि न्यूरोडको पश्चिमतर्फको भागमा पार्किङ गरिराखेका सवारी ट्राफिक प्रहरीले उठाएर लैजाने गरेको छ ।सडकको दायाँबायाँ दुबैतिर पार्किङको व्यवस्था नगरे आफूहरू व्यवसायबाट हात धुने अवस्थामा पुग्ने व्यवसायीहरुको गुनासो छ ।











