प्रतिनिधिसभा बैठक समयमै सुरु भएन

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक बस्नमा विलम्ब भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक समयमै सुरु हुन नसकेको हो ।

आजको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वक्तव्य सहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । आज नै आर्थिक वर्ष २०८३/८४ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची पनि छ ।

कार्यसूचीमा बैठक प्रवेश गर्नु अगाडि आकस्मिक समय, शून्य समय र विशेष लसमय चलाउने अभ्यास छ ।प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू छलफलमा छन् । यसकारण प्रतिनिधिसभाको बैठक बस्नमा समेत ढिलाइ भएको हो ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यस्तो अभिव्यक्तिका साथ उनले अब दुइटै देशले अध्ययन गरेर र छलफलमा बसेर एउटा साथीको रूपमा समस्या समाधान गर्ने सोच राखेको बताएका थिए ।

  • १८ जेष्ठ २०८३, सोमबार १३:४० प्रकाशित