गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ : प्रथम राष्ट्रपति यादव

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रथम राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशवासीलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

‘म आशा गरिरहेको छु– राष्ट्रबारे के सोच बनाउनुभएको छ, राष्ट्रको दिशा कहाँ लैजानुहुन्छ भन्नेबारे हाम्रो देशको प्रधानमन्त्रीले गणतन्त्र दिवसमा टुँडिखेलको मञ्चबाट सम्बोधन गर्नुपर्छ,’ प्रथम राष्ट्रपति यादवले भने ।

प्रधानमन्त्री बालेनको दृष्टिकोण सुन्न नेपाली जनता आतुर रहेका उनको भनाइ थियो । ‘उहाँको दृष्टिकोण सुन्नका लागि आज सम्पूर्ण जनता आतुर छन्,’ यादवले भने, ‘उहाँको मुखबाट सुन्नुपर्ने हो । उहाँले आजसम्म देशलाई सम्बोधन गर्नुभएको छैन ।’

प्रथम राष्ट्रपति यादवले विभिन्न आन्दोलनबाट प्राप्त मुलुकले प्राप्त गरेका उपलब्धिका बारेमा प्रधानमन्त्रीको धारणा आफूले सुन्न चाहेको आशय पनि व्यक्ति गरे ।

‘हाम्रो संघर्षको उपलब्धि जुन छ, उहाँले के भन्नुहुन्छ यसबारेमा । देशको आर्थिक अवस्था कसरी अगाडि लैजाने, देशको सामाजिक अवस्थालाई कसरी लैजाने ?,’ उनले भने, ‘स्वास्थ्य, शिक्षा र कृषिमा के गर्ने, भौतिक पूर्वाधारलाई कसरी लग्ने, अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो हुने, त्यो मञ्चबाट गणतन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने हो ।’

  • १३ जेष्ठ २०८३, बुधबार १६:५९ प्रकाशित